त्रिदेशी सिमाक्षेत्रमा छ वर्षसम्म सशस्त्र प्रहरीकोे दुईपटक गस्ती

0
2048

शंकर सिंह धामी,
दार्चुला, पुष २ गते ।
सिमा सुरक्षाको म्यान्डेट पाएको सशस्त्र प्रहरीले दार्चुलामा उपस्थिति जनाएको ६ वर्ष पूरा हुँदैछ । २०७० साल मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलगत्तै माघ ७ गते दार्चुला सदरमुकाम खलंगामा शसस्त्र प्रहरीको सिमा सुरक्षा गुल्म स्थापना भएको थियो । तर दार्चुला सदरमुकाममा गुल्म स्थापना भएको ६ वर्षको अवधिमा दुइपटक मात्रै सशस्त्रको टोलीले व्यासक्षेत्रमा गस्ती गरेको छ ।
भारतबाट सिमा अतिक्रमण भएको कालापानी क्षेत्र र नेपाल, भारत तथा चीनको त्रिदेशीय सिमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति मात्रै होइन निगरानीसम्म पनि प्रभावकारी बन्न सकेको छैन । दार्चुलामा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने बेला नै जिल्लाका सरोकारवालाहरुले सिमाक्षेत्रमा सशस्त्र प्रहरीको गुल्म राख्नुपर्ने बताएका थिए । तर त्यतिबेला सदरमुकाम केन्द्रीत गरी गुल्म स्थापना गरिएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामी बताउनुहुन्छ ।
पछिल्लो समय खलंगास्थित सशस्त्र प्रहरी गुल्मको नाम परिवर्तन गरिएको छ । सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडक्वाटरको रुपमा खलंगाको ब्यारेक रहेको छ । पछिल्लो नाम परिवर्तनले सिमा सुरक्षाको शब्दावली नै हटाइएको छ । देशभरका सबै जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको उपस्थिति गराउने नयाँ नीतिसंगै सिमा सुरक्षाको शब्दावली नै हटेको हो ।
खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मको अभिलेखअनुसार स्थापनाकालदेखि हालसम्म ११ पटक महाकाली किनारको सिमाक्षेत्रमा सशस्त्र प्रहरीको फोर्स मार्च (गस्ती) भएको छ । सदरमुकामदेखि उत्तरतर्फको सिमाक्षेत्रलाई लक्षित गरी समय समयमा लामो गस्ती परिचालन गरिएको ५० नम्बर गुल्मका गुल्मपति डम्बरवहादुर विष्ट बताउनुहुन्छ ।
सशस्त्र प्रहरीको अधिकांश फोर्स मार्च राप्लाको दुम्लिङसम्म मात्रै भएको छ । दुम्लिङभन्दा अगाडि उत्तरतर्फको सिमाक्षेत्रमा पैदल मार्ग क्षतिग्रस्त भएकोले नियमित गस्ती हुन नसकेको गुल्मपति विष्टले बताउनुभयो । सशस्त्र प्रहरीको गस्ती तिंकर भञ्ज्याङको १ नम्बर पिलरसम्म दुई पटक, व्यासको छाङरुसम्म दुई पटक र दुम्लिङसम्म ७ पटक गरिएको अभिलेख छ । तर व्यास गाउँपालिकाको वडा नम्बर १ को छाङरु र तिंकरसम्मको क्षेत्रमा दुइपटक मात्रै सशस्त्र प्रहरीको गस्ती टोली पुगेको छाङरुका स्थानीय वासिन्दा जीतसिह बोहराको भनाई छ ।
सशस्त्र प्रहरीले पहिलो पटक २०७१ कार्तिक २१ देखि दुइ हप्तासम्म व्यासको छाङरु हुँदै तिंकर भञ्ज्याङको १ नम्बर पिलरसम्म गस्ती गरेको थियो । नेपाल र चीनको सिमाना छुट्याउने १ नम्बर पिलरसम्म सशस्त्र प्रहरीको टोली पुगेको यो पहिलो पटक हो । त्रिदेशीय सिमाक्षेत्रमा गरिएको पहिलो गस्तीको नेतृत्व तत्कालिन गुल्मपति वीरसिह साहुँ स्वयंले गरेका थिए । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भञ्ज्याङसम्म पुग्न मात्रै ५ दिन लागेको अभिलेख छ ।
दोस्रो पटक २०७५ जेठ १९ गते सशस्त्र प्रहरीको गस्ती टोली छाङरु र तिंकरका लागि प्रस्थान गरेको थियो । यो पटक छाङरुबाट कालापानीसम्म पुग्ने प्रयास पनि गरिएको थियो । तर छाङरुभन्दा २ किलोमिटर अगाडि तल्ला कौवाक्षेत्रमा बाटो भत्किएकाले सशस्त्र प्रहरीको टोली फर्किएको थियो । २०७४ फागुन महिनामा भारतीय पक्षले महाकाली नदीमा एकतर्फी रुपमा ४ काठेपुल निर्माण गरेको विषय सार्वजनिक भएपछि २०७५ जेठमा सशस्त्र प्रहरीको गस्ती टोली परिचालन गरिएको थियो । तत्कालिन गुल्मपति अम्बिकाप्रसाद जोशीले सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा ३२ जना सुरक्षाकर्मीको टोली परिचालन गरेका थिए ।
‘भिरालो ठाउँ र साघुरो पैदल बाटोका कारण सिमाक्षेत्रमा गस्ती टोली परिचालन गर्न समस्या छ’ सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बर वहादुर विष्टले भन्नुभयो । पछिल्लो समय भारतीय क्षेत्रको सडक निर्माणले नेपालतर्फको पैदल मार्ग क्षतिग्रस्त भएकोले छाङरु र तिंकरसम्म गस्ती गर्न नसकिएको उहाँको भनाई छ ।
गत साउन १६ देखि गुल्मपतिको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरीका डिएसपी विष्टले आफ्नो कार्यकालमा दुइ पटक फोर्स मार्च परिचालन गरेको बताउनुभयो । ‘दुम्लिङभन्दा अगाडि पैदलमार्ग भत्किएकाले जान सकिएन, दुबै पटकको गस्ती महाकाली किनारको दुम्लिङसम्म गरिएको छ’ उहाँले भन्नुभयो । गुल्मको अभिलेखअनुसार भदौ २३ देखि एक हप्तासम्म सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण वहादुर कार्कीको नेतृत्वमा ११ जनाको टोली गस्तीमा परिचालन गरिएको थियो ।
दोस्रो पटक सशस्त्र सहायक प्रहरी सहायक निरीक्षक शंकरदत्त पन्तको नेतृत्वमा ९ जनाको टोली कार्तिक ४ देखि १० गतेसम्म सिमाक्षेत्रमा परिचालन गरिएको गुल्मपति विष्टले जानकारी दिनुभयो । सशस्त्र प्रहरीको टोली गस्तीका लागि परिचालन गरिदा बाहिनी र हेडक्वाटरको स्वीकृति लिने गरिएको छ । माथिल्लो निकायको स्वीकृतिपछि मात्रै टोली परिचालन हुने गरेको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीका केही सुरक्षाकर्मीलाई सिमाक्षेत्रको अवस्थाबारे अवलोकन र निगरानी गर्न सादा पोशाकमा समेत परिचालन गरिएको सशस्त्र प्रहरीका एक जुनियर अधिकृतले बताउनुभयो ।
सशस्त्र प्रहरीका डिएसपी भीमवहादुर चन्दले आफ्नो कार्यकालमा दुइपटक व्यासक्षेत्रको भ्रमण गरेका थिए । २०७५ भदौमा चीनिया अधिकारीसंगको समन्वय बैठकमा सहभागी हुने क्रममा सशस्त्र प्रहरीका डिएसपी चन्दले पहिलो पटक व्यासक्षेत्रको भ्रमण गर्नुभएको थियो । त्यतिबेला ३ दिनको समय त्यसक्षेत्रमा विताएको उहाँको भनाई छ । २०७६ वैशाखमा पनि नेपाल प्रहरीको टोली खलंगाबाट व्यासको छाङरुमा पुर्याउने क्रममा हेलिकोप्टरमार्फत डिएसपी चन्द दोस्रो पटक व्यास क्षेत्र पुगेका थिए । व्यासक्षेत्र जोड्ने पैदलमार्ग भारतीय सडक निर्माणले भत्किएपछि हेलिकोप्टरमार्फत खलंगाबाट व्यासक्षेत्रमा प्रहरी टोली सारिएको थियो । त्यतिबेला प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुले हेलिकोप्टरमार्फत भ्रमण गरेका थिए ।
हालसम्म सदरमुकाममा मात्रै केन्द्रीत रहेको शसस्त्र प्रहरीको उपस्थितिलाई व्यासक्षेत्रमा पुर्याउन लामो समयदेखि आवाज उठेको छ । तर व्यासमा सुरक्षा पोष्ट स्थापनाको विषय अहिलेसम्म कागजी प्रक्रियामै अडकिएको छ ।