दम्दाकोट टावर सञ्चालनमा आउदा दुहुँ र व्याँसवासीलाई सुविधा

2358

दार्चुला, साउन २४ गते ।
दार्चुलाको दुहुँ क्षेत्रअन्तर्गत दम्दाकोटमा नेपाल टेलिकमको टावर सञ्चालन भएको छ । व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित दम्दाकोट नेपाल टेलिकमको टावर बिहीवार उद्घाटन गरिएको हो ।
गत आर्थिक वर्षमा विनियोजित बजेट मार्फत् निर्माण गरिएको दम्दाकोट नेपाल टेलिकमको टावर बिहीवार एक औपचारिक कार्यक्रकाबीच उद्घाटन गरिएको व्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्टले बताउनुभयो ।
व्याँस र दुहूँ गाउँपालिकाको सीमा क्षेत्रमा रहेको दम्दाकोट नेपाल टेलिकम टावर सञ्चालन भएपछि दुबै स्थानीय तहका सेवाग्राहीहरुको फोन सेवा प्रभावकारी बन्ने अपेक्षा लिइएको छ । लामो समयदेखि टावर निर्माणको चर्चा रहेको तथा निर्माण कार्य सुरु भए पनि बीचमा रोकिएको थियो । अलपत्र परेको दम्दाकोट टावर टेलिकमले पछिल्लो समय पूरा गरी सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रका स्थानीयहरु खुशी भएका छन् ।
विगत लामो समयदेखि टावर निर्माणका लागि जग निर्माण गरिएको भए पनि निर्माण कार्य रोक्किएपछि टावर निर्माण कार्य अलपत्र परेको थियो । पछिल्लो समय सरोकारवालाहरुको पहलमा दम्दाकोट टेलिकम टावर सञ्चालनमा आएको हो । नेपाल टेलिकमले जिल्लाभरी नै फोन सेवा पु¥याउने उद्देश्यले धेरैजसो स्थानमा टेलिकम टावर निर्माण गरेको छ भने केही स्थानहरुमा टावर निर्माणाधीन अवस्थामा रहेका छन् । सोही कार्यक्रम अन्तरगत दम्दाकोटमा पनि टेलिकमको टावर निर्माण गरिएको हो ।
दम्दाकोट टावर उद्घाटन कार्यक्रममा व्याँस गाउँपालिकाका उपाध्यक्ष हेमा भट्ट, दुहूँ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयबहादुर बाम, व्याँस गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोज सिँह कुवँर, इलाका प्रहरी कार्यालय हुतीका सुरक्षाकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !