दश हजार नागरिकसम्म प्रहरीको कार्यक्रम

0
1921

दार्चुला, माघ २२ गते ।
दार्चुलामा १० हजार नागरिकसम्म नेपाल प्रहरीको सचेतनामूलक कार्यक्रम पुगेको छ । साउनदेखि पुष मसान्तसम्मको अवधिमा दार्चुलाका १० हजार १ सय ७५ नागरिकसम्म प्रहरीले सचेतनामूलक कार्यक्रम पुर्याएको हो ।
सरसफाई, ट्राफिक नियम, लैंगिक हिंसा, आत्महत्या, वालविवाह जस्ता विषयमा प्रहरीले नागरिक सहभागितामा ३ सय ७७ वटा कार्यक्रम गरेको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो । जिल्लाभरीका प्रहरी युनिट र प्रहरी कर्मचारी परिचालन गरी सबै क्षेत्रमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
दाइजो, जुवातास, छाउपडी, लागू औषध, मानव बेचविखन र ओसारपोसार जस्ता विषयमा पनि कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ‘हरेक महिना एउटै प्रहरी युनिटबाट दर्जनौ कार्यक्रम सञ्चालन गरिएका छन्’ डिएसपी शाहीले भन्नुभयो । आफ्नो कार्यक्षेत्रभरीको वस्ती र निकायमा प्रहरी युनिटबाट कार्यक्रम सञ्चालन गराइएको उहाँले बताउनुभयो ।
साउनमा सञ्चालन गरिएका ५५ कार्यक्रममा १ हजार ३ सय ७४ नागरिकको सहभागिता छ । भदौमा ६७ कार्यक्रममा १ हजार ४ सय २९ जना तथा असोजका ७९ कार्यक्रममा ३ हजार २ सय ५७ नागरिकको सहभागिता रहेको प्रहरी अभिलेख छ ।
कार्तिकमा ५२ कार्यक्रम सञ्चालन गरिएकोमा १ हजार २ सय २ जना, मंसिरमा ८१ कार्यक्रम गरिएकोमा २ हजार ४ सय ९८ जना र पुष महिनाका ३६ कार्यक्रममा १ हजार ६ सय २ जनाको सहभागिता रहेको डिएसपी शाहीले जानकारी दिनुभयो । धेरैजसो विद्यालयहरुमा कार्यक्रम गरिएकोले सहभागिता अत्यधिक देखिएको उहाँको भनाई छ ।
लैंगिक हिंसा, लागूऔषध नियन्त्रण र घरेलु हिंसाबारे बढी कार्यक्रम गरिएका छन् । बढी नागरिकसम्म प्रहरीको सन्देश पुर्याउन यस्ता कार्यक्रमको निरन्तरता दिइने दार्चुला प्रहरीले जनाएको छ । समुदायसंग प्रहरीको सम्बन्ध र पहुँचलाई सुदृढ बनाउन लागिएको डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो । ‘नागरिक सुरक्षा र सभ्य समाज निर्माणमा प्रहरीको सक्रियता र योगदान बढाउन खोजेका छौ’ उहाँले भन्नुभयो ।