दार्चुलाका पाँच स्वास्थ्य संस्थामा भवन बन्ने

2061

दार्चुला, पुष १६ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा दार्चुलाका पाँच स्वास्थ्य संस्थामा नयाँ भवन बनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले चालु वर्षमा भवन निर्माण गरिने स्वास्थ्य संस्थाहरुको विवरण पुष ९ गते सार्वजनिक गरेको छ ।
लेकम गाउँपालिकाको वडा नम्बर ४ खरकडा र अपिहिमाल गाउँपालिकाको केन्द्र रहको खण्डेश्वरीस्थित स्वास्थ्य चौकीमा प्रसुति केन्द्र भवन बनाइनेछ । प्रसुति केन्द्रमा कुरुवालाई समेत वास बस्ने मिल्ने गरी भवन निर्माण गर्ने प्रदेश सरकारको कार्यक्रम छ । प्रदेशभरी चालु वर्षमा ३२ वटा प्रसुति केन्द्र भवन बनाइने सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाले चालु वर्षमा निर्माण गरिने स्वास्थ्य क्षेत्रका भवनहरुको विवरण सार्वजनिक गरेको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरस्थित भण्डारीगाउँमा शहरी स्वास्थ्य केन्द्रको भवन बनाइने भएको छ । यो वर्ष दार्चुलामा शहरी स्वास्थ्य केन्द्र भवन एउटा मात्रै बनाइनेछ ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ तौकी र व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेराको डोकटमा सामुदायिक स्वास्थ्य इकाई भवन बन्नेछन् । सुदूरपश्चिम प्रदेशभर यो वर्ष १६ वटा सामुदायिक स्वास्थ्य इकाई र १६ वटा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिने कार्यक्रम छ ।
बजेट खुलेको छैन
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रका भवन निर्माणको विवरण सार्वजनिक गरे पनि बजेट भने सार्वजनिक गरेको छैन । मन्त्रालयले विवरण सार्वजनिक गरे पनि जिल्लास्तरमा यसबारे औपचारिक जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
चालु वर्ष जिल्लाभर ५ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिने कार्यक्रम रहेको छ । गतवर्ष सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणमा १० लाख, शहरी स्वास्थ्य केन्द्रमा १५ लाख र प्रसुति केन्द्र भवन निर्माणमा २० लाखका दरले बजेट रहेको थियो । यो वर्षको कार्यक्रम र अख्तियारी स्वास्थ्य कार्यालयलाई प्राप्त नभएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !