दार्चुलामा प्रदेश सरकारका तीन कार्यालय, केही थपिदै

0
2392

दार्चुला, चैत्र १ गते ।
सुुदुरपश्चिम प्रदेश सरकारअन्तर्गत दार्चुलामा ३ कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत दुइटा कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत एउटा कार्यालय सञ्चालनमा छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय सर्वप्रथम सञ्चालनमा आएको छ । २०७५ असोजदेखि सञ्चालनमा आएको डिभिजन वन कार्यालयले वनका साथै वातावरण र पर्यटनको क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्न लागेको सहायक वन अधिकृत अमरसिह धामीले बताउनुभयो । प्रदेश सरकारको बजेट कार्यक्रमका साथै संघीय सरकारको बजेट र कार्यक्रम पनि डिभिजन वन कार्यालयले कार्यान्वयन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नै घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालयमा सञ्चालनमा छ । वार्षिक बजेट, कार्यक्रम र अख्तियारीसहित कार्यालय सञ्चालन भइरहेको वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पनि सञ्चालनमा छ । गत असोजदेखि कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको डिभिजन प्रमुख कुमार वहादुर खड्काले बताउनुभयो । सिचाईका साथै नदी नियन्त्रण र पहिरो नियन्त्रण सम्बन्धि कार्य पनि डिभिजन कार्यालयले गरिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको वार्षिक बजेट, कार्यक्रमका साथै संघीय सरकारको बजेट र कार्यक्रम पनि कार्यान्वयन भइरहेको डिभिजन प्रमुख खड्काले बताउनुभयो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला अस्पताल पनि सञ्चालन भइरहेको छ । सुरुमा महाकाली नगरपालिकाअन्तर्गत सञ्चालन हुने भनिएकोमा पछिल्लो समय प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालन गर्ने भएको हो । चालु आर्थिक वर्षको बजेट तथा अख्तियारी महाकाली नगरपालिकामार्फत कार्यान्वयन भए पनि प्रदेश सरकारको छुट्टै कार्यालय संरचनामा जिल्ला अस्पताल रहने छ । जिल्ला अस्पतालको नेतृत्व अहिले डाक्टर गजेन्द्र दुवालले गरिरहेका छन् ।
जनस्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन र समन्वयका लागि जिल्लामा छुट्टै स्वास्थ्य कार्यालय समेत रहने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यालय सञ्चालन हुने नायव सुब्बा चन्द्रसिह धामीले बताउनुभयो । जिल्लास्तरमा रहने स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा १२ जनाको कर्मचारी दरबन्दी रहने अनौपचारिक जानकारी आएको उहाँले बताउनुभयो ।
खानेपानी, कृषि, पशुसेवा र पूर्वाधार विकास कार्यालय बैतडीमा सञ्चालित भए पनि दार्चुलामा सम्बन्धित निकायका फिल्ड तथा सम्पर्क कार्यालय सञ्चालन हुने भएका छन् । कर्मचारी समायोजनका कारण सम्पर्क कार्यालय सञ्चालनमा केही ढिलाइ भएको कर्मचारीहरुको भनाई छ ।