दार्चुलामा सात टावरबाट थ्रीजी सेवा

11569

दार्चुला, भदौ १० गते ।
नेपाल टेलिकमले दार्चुला जिल्लाभरी सातवटा टावरबाट तेस्रो पुस्ताको थ्रीजी सेवा दिइरहेको छ । मोबाइल सेवामा आधुनिक प्रविधिमार्फत सेवा विस्तार भइरहेको टेलिकमले जनाएको छ ।
सदरमुकाम खलंगालगायत ग्रामिण भेगमा पनि टेलिकमको थ्रीजी सेवा पुगेको छ । नमस्ते मोबाइलका टावरमार्फत थ्रीजी सेवा उपलब्ध भइरहेको हो । थ्रीजीको टावर कभरेज भएको स्थानमा उच्चगतिको इन्टरनेट सेवा उपभोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
खलंगास्थित टेलिकम परिसर, वालशिखर टावर, छापरी, गोकुलेश्वर र महाकाली लोकमार्ग छेउमा ऐरीछानास्थित नमस्ते टावरबाट थ्रीजी सेवा उपलब्ध भइरहेको छ । यसैगरी, लेकम गाँउपालिकाको कैनोडा र अपिहिमाल गाँउपालिकाको खण्डेश्वरीस्थित नमस्ते टावरबाट पनि थ्रीजी सेवा प्रदान गरिएको टेलिकम दार्चुलाले जनाएको छ ।
विहिवारदेखि सञ्चालनमा लाइएको धापको टावरबाट पनि टुजीका साथै थ्रीजी सेवा पनि दिइएको छ । थ्रीजी सेवाका लागि प्रिपेड र पोष्टपोड नमस्तेको सिम एन्ड्रोइड मोबाइल सेटमा चलाउनुपर्छ । सुचना प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासंगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् ।
एक महिनाअघि मात्रै सञ्चालनमा आएको शैल्यशिखर नगरपालिकाको आगरस्थित नमस्ते टावरबाट टुजी सेवा दिइएको छ । खलंगाको बंगाबगड, महाकाली नगरपालिकाको उलेनी, शैल्यशिखर नगरपालिकाको चमेलिया बलाँचस्थित टावरबाट टुजी सेवा दिइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले शैल्यशिखर नगरपालिकाको रानीशिखर, महाकाली नगरपालिकाको झुस्कु काँटै र मार्मा गाँउपालिकाको तपोवनमा नमस्ते मोबाइलको नयाँ टावर राख्दैछ । यसैगरी नौगाड गाँउपालिकाको दल्लेख, दुहुँ गाँउपालिकाको दम्दाकोट र व्यास गाँउपालिकाको राप्लामा नमस्तेको टावर राख्न लागिएको टेलिकमको भनाई छ । मालिकार्जुन गाँउपालिकाको पस्ती र लेकम गाँउपालिकाको रिठाचौपातामा पनि नमस्ते टावर राख्न गृहकार्य भइरहेको छ ।
दार्चुला जिल्लाभरी २०७५ असार मसान्तसम्म ४१ हजार ४ सय ७८ प्रिपेड नमस्ते मोबाइलका ग्राहक संख्या पुगेको छ । यसैगरी १ सय २२ जना प्रिपेड नमस्ते सेवाका ग्राहक छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !