दार्चुलामा ६ स्थानीय तहमा १२ करोड सम्पूरक अनुदान

2581

दार्चुला, चैत्र ७ गते ।
दार्चुलाका ६ स्थानीय तहमा नेपाल सरकारले करिब १२ करोड सम्पुरक अनुदान उपलब्ध गराएको छ । संघीय सरकारले कार्तिक २९ गते सम्पूरक अनुदान कार्यविधि पारित गरी मंसिरमा अनुदान बजेटको प्रस्ताव पेश गर्न स्थानीय तहहरुलाई आव्हान गरेको थियो ।
स्थानीय तहहरुले पेश गरेको प्रस्तावका आधारमा सरकारले सम्पूरक अनुदान उपलब्ध गराएको हो । दार्चुलामा नौमध्ये ६ स्थानीय तहले सम्पूरक अनुदान पाएका छन् । शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन, नौगाड, मार्मा र अपिहिमाल गाँउपालिकाले यस्तो बजेट पाएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
छवटै स्थानीय तहमा कुल ११ करोड ८६ लाख ६५ हजार सम्पूरक अनुदान प्राप्त भएको छ । सरकारले बजेट भाषणमार्फत वित्तिय समानीकरण अनुदान र सशर्त अनुदानअन्तर्गत स्थानीय तहहरुलाई बजेट उपलब्ध गराएको थियो ।
शैल्यशिखर नगरपालिकामा सर्वाधिक २ करोड ५३ लाख ८६ हजार सम्पूरक अनुदान छ । महाकाली नगरपालिकामा २ करोड ४६ लाख ५८ हजार बजेट छ भने मालिकार्जुन गाँउपालिकामा १ करोड ९७ लाख ९० हजार सम्पूरक अनुदान बजेट छ ।
मार्मा गाउँपालिकामा १ करोड ८८ लाख ७६ हजार, नौगाड गाँउपालिकामा १ करोड ८७ लाख ६४ हजार र अपिहिमाल गाँउपालिकामा १ करोड ११ लाख ९१ हजार सम्पूरक अनुदान बजेट दिइएको कोलेनिकाका सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो ।
व्यास, दुहुँ र लेकम गाँउपालिकामा भने सम्पूरक अनुदान प्राप्त भएको छैन । सरकारले मंसिर मसान्तभित्र अनुदानका लागि आयोजना र कार्यक्रम पेश गर्न मंसिर २० गते स्थानीय तहहरुलाई सर्कुलर गरेको थियो । सम्पूरक अनुदानको जानकारी समयमै प्राप्त नहुदाँ गाउँपालिकाबाट आयोजना र कार्यक्रम पेश गर्न नसकिएको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्कीले बताउनुभयो ।
छोटो समयको सुचना भएको र समयमै यसबारे जानकारी नहुदा लेकम गाउँपालिकाले पनि अनुदान बजेटको प्रस्ताव पेश गर्न नसकेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !