दार्चुला–गोकुलेश्वर सडकमा टाइमकार्ड प्रयोग गरिने

0
3493

दार्चुला, मंसिर ९ गते ।
सडक दुर्घटना न्युनिकरणका लागि महाकाली लोकमार्गको दार्चुलादेखि गोकुलेश्वरसम्मको सडक खण्डमा टाइमकार्ड प्रयोग गरिने भएको छ । दार्चुला प्रहरीले लोकमार्गको यस खण्डमा चल्ने सबै सार्वजनिक यातायातका साधनमा टाइमकार्ड प्रयोग गर्ने भएको हो ।
आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा टाइमकार्ड प्रयोगबाट सहमति बनेको छ । दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले सडक दुर्घटना न्युनिकरणका लागि टाइमकार्ड आवश्यक भएको बताउनुभयो । सवारीसाधनको गति नियन्त्रणका साथै क्षमताअनुसार यात्रु बोक्ने कार्यलाई टाइमकार्डले सहयोग पुर्याउने उहाँको भनाई छ ।
दार्चुलादेखि गोकुलेश्वरसम्मको ७२ किलोमिटर लामो सडक खण्डमा टाइमकार्ड प्रयोग हुनेछ । आवतजावत गर्ने सबै सवारीसाधनमा टाइमकार्ड प्रयोग गरिनेछ । दार्चुलादेखि गोकुलेश्वर र गोकुलेश्वरदेखि दार्चुलासम्म दुबैतर्फ टाइमकार्ड प्रयोगमा ल्याइने डिएसपी अधिकारीले बताउनुभयो ।
प्राविधिक तयारी गरी एक दुईदिनभित्रै टाइमकार्ड प्रयोगमा ल्याइने प्रहरीले जनाएको छ । खलंगा, धाप, दत्तु, शंकरपुर, मालिकार्जुन र गोकुलेश्वरमा टाइमकार्डको चेकजाँच गरिने छ । आइतवार गरिएको छलफलअनुसार खलंगादेखि गोकुलेश्वरसम्म पुग्न सवारीसाधनलाई साढे ३ घण्टाको समय दिइनेछ । खलंगादेखि धापसम्म ३० मिनेट, दत्तुसम्म ४५ मिनेट र शंकरपुरसम्म दुई घण्टाको समय दिइने भएको छ । मेलखेतमा चियानास्ताको समय पनि यसमा समावेश गरिएको छ । खलंगादेखि मालिकार्जुनसम्म अढाइ घण्टा र गोकुलेश्वरसम्म साढे ३ घण्टाको समय तोक्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, गोकुलेश्वरदेखि मालिकार्जुनसम्म एक घण्टा, शंकरपुरसम्म डेढ घण्टा, दत्तुसम्म २ घण्टा ४५ मिनेट, धापसम्म ३ घण्टा र खलंगासम्म साढे ३ घण्टाको समय निर्धारण गरिने भएको छ ।
महाकाली लोकमार्गअन्तर्गत रहेका प्रहरी युनिटहरुले टाइमकार्डको चेकजाँच गर्ने डिएसपी नवराज अधिकारीले बताउनुभयो । टाइमकार्डको प्रयोगले उच्चगतिमा गाडी चलाउदा हुने दुर्घटना न्युनिकरण हुने अपेक्षा छ ।