दार्चुला—तिंकर सडकको बाधक विजयपुर भीर !

0
2853

दार्चुला, भदौ १७ गते ।
दश वर्ष पहिलेबाट निर्माण सुरु गरिएको दार्चुला तिंकर सडकको ट्रयाक २६ किलोमिटरसम्म मात्रै खुल्न सकेको छ ।
पहिलो चार वर्ष मै निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६५÷६६ बाट सुरु भएको दार्चुला तिंकर सडक अहिले दुहँु गाउँपालिका वडा नम्बर १ विजयपुर भिरमा अट्किएको छ ।
देशमा विभिन्न समयमा भएको आन्दोलन, २०७० सालमा महाकालीमा बाढी आउँदा सडकमा पुगेको क्षति, ठेकेदारले समयमै काम नगर्ने प्रवृत्ति आदिले निर्माण कार्यमा निक्कै सुस्त भएको भन्दै आलोचित बनेको यो सडकको ट्रयाक खोल्ने काम पछिल्लो पटक बिस्फोटक पदार्थको अभावका कारणले अबरुद्ध रहेको चर्चा रह्यो ।
सेनाले उपलब्ध गराउने मात्राको बिस्फोटक पदार्थ खर्चालु हुनै भन्दै कार्यालयले ल्याउन नमान्ने र कार्यालयले माग गरेको मात्रामा नेपाली सेनाले बिस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा दार्चुला तिंकर सडकले बिस्फोटक पदार्थको अभाव खेप्दै आएको थियो ।
ट्रयाक खोल्न बिस्फोटक पदार्थको अभाव भएपछि कार्यालयले निजी कम्पनीसँग सापट बिस्फोटक पदार्थ लियो र नेपाली सेनाको निगरानीमा बिस्फोट गराउने सहमति भयो ।
‘निजी कम्पनीसँग बिस्फोटक सापट लिएपछि दार्चुला तिंकर सडकको ट्रयाक खुल्ने कुरा सहजै होला भन्ने थियो तर अहिलेसम्म एक दिन मात्रै बिस्फोट गराइएको छ, ट्रयाक खुल्ने कुरा त खै ।’ स्थानीय मिनबहादुर धामीले भन्नुभयो ।
बिस्फोटक पदार्थ आएपनि किन हुन सकेन काम ?
तिंकर सडकका लागि आवश्यक पर्ने बिस्फोटक पदार्थ निजी कम्पनीसँग सापट लिएर उपलब्ध गराएको भएपनि दार्चुला तिंकर सडकको ट्रयाक खुल्ने काम सुचारु हुन सकेको छैन ।
तिंकर सडक अन्तर्गत दुहुँ गाँउपालिकाको वडा नम्बर १ विजयपुर भीरका कारण सडकको ट्र्याक खोल्न समस्या भएको दार्चुला तिंकर सडक कार्यालय र निर्माण व्यावसायीहरु बताउँछन् ।
कडा चट्टानी भौगोलिक अवस्था र भिरालो भुभाग भएकाले विजयपुरमा ट्रयाक खोल्न धेरै समय र बिस्फोटक पदार्थ खर्चिनु पर्ने अवस्था आएको सडक योजना कार्यालयले जनाएको छ ।
पछिल्लो समय तिंकर सडक निर्माणका लागि जिलेटिनको व्यवस्था गरिए पनि अहिलेसम्म एकपटक मात्रै जिलेटिनको प्रयोग भएको छ ।
विजयपुर भीर निक्कै भिरालो र कडा चट्टानी रहेकाले जिलेटिनका लागि प्वाल तयार गर्न अप्ठेरो भएको निर्माण व्यवसायी जयवहादुर पालले बताउनुभयो । ‘वर्षा भइरहेको र भिरालो चट्टानी भुभाग भएकाले जिलेटिन प्रयोग गर्नका लागि प्वाल तयार गर्नमा ढिलाइ भएको छ’ उहाँको भनाई छ ।
विजयपुरमा ‘भर्टिकल’ चट्टान भएकाले जिलेटिन प्रयोगका लागि होल गर्न समस्या भइरहेको दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । ‘भर्टिकल चट्टानमा जिलेटिनका लागि प्वाल तयार गर्नु चुनौतिपूर्ण छ’ उहाँले भन्नुभयो । सडक खन्ने मेसिन स्काइभेटरको मुखमा चढेर कम्मरमा डोरी बाधी प्वाल तयार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
एक दिन मात्रै बिस्फोट गराइयो
भदौ ३ गते मात्रै विजयपुर भीरमा पहिलो पटक जिलेटिन प्रयोग गर्दा भिरालो ठाँउमा बनाइएका १६ वटा प्वालमा जिलेटिन पट्काउन नसकिएको इन्जिनियर रैखोलाको भनाई छ ।
नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा ३६ किलोग्राम जिलेटिन बिस्फोटन गर्न लगिएकोमा ३३ किलोग्राम मात्रै प्रयोग भएको थियो । विजयपुर भीरमा ६० मिटर लामो ट्र्याक खोल्न बाँकी रहेको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो ।
भदौ ३ गतेको बिस्फोटनले केही मिटर चट्टान फुटेको छ । जिलेटिनले फुटाइएका ढुंगाहरु सफा भइरहेको निर्माण व्यवसायी जयवहादुर पालले बताउनुभयो ।
एक किलोग्राम जिलेटिन बिस्फोट गर्दा बढीमा ४ घनमिटर क्षेत्रको चट्टान फुट्ने इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । विजयपुरमा कडा र भिरालो चटन भएकाले धेरै पटक जिलेटिन पडकाउनु पर्ने उहाँको भनाई छ । ‘कम्तिमा ७÷८ पटक जिलेटिन पट्काएपछि मात्रै विजयपुर भीरमा ट्र्याक खुल्छ’ इन्जिनियर रैखोलाले भन्नुभयो ।
मौसम अनुकूल हुनेबित्तिक्कै विजयरपुर क्षेत्रमा बिस्फोट गराइने योजना रहेको कार्यालयका सुचना अधिकृत समेत रहेका ईन्जिनियर रैखालाले भदौ १७ गते यो क्षेत्रमा दोस्रो पटक बिस्फोट गराइने जानकारी दिनुभएको छ ।
ठेकेदारमार्फत जिलेटिन प्रयोग गरेर सडकको ट्र्याक खोल्नुको बिकल्प नभएको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साह बताउनुहुन्छ । तिंकर सडकमा ७ मिटर चौडाई चाहिने भए पनि चटन भएको उक्त क्षेत्रमा ४–५ मिटर चौडा सडकको ट्र्याक खोलिने उहाँले बताउनुभयो । सडकको स्तरवृद्धि गरिदा भने सडकको चौडाई ७ मिटर पुर्याइने उहाँको भनाई छ ।
पिपलचौरीको विजयपुर भीरमा ट्र्याक नखोलिएसम्म अगाडिको सडक निर्माणले पनि गति पाउने अवस्था छैन । विजयपुर भीरभन्दा अगाडिको सडक निर्माणका लागि मेसिन र जिलेटिन प्रयोगमा ल्याउन समस्या रहेको आयोजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । जिलेटिन प्रयोगको अहिले कै गति दोहोरिदा विजयपुर भीरमा सडक खोल्न महिनौ लाग्न सक्ने अनुमान उनको छ ।