दार्चुला महोत्सवका लागि आधा दर्जन समितिहरु

0
2613

दार्चुला, मंसिर १९ गते ।
दार्चुला उद्योग वाणिज्य संघले आगामी माघ २५ देखि फागुन ५ गतेसम्म आयोजना गर्ने दार्चुला महोत्सवका लागि आधा दर्जन समितिहरु गठन गरेको छ । मंगलवार बसेको संघको कार्य समिति बैठकले महोत्सव तयारी तथा व्यवस्थापनका लागि समितिहरु गठन गरी कार्य विभाजन गरेको हो ।
सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवका लागि वरिष्ठ उपाध्यक्ष मदनसिह बुढाथोकीको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । संघका निवर्तमान अध्यक्ष सुरेशसिह थापाको संयोजकत्वमा स्वागत समिति, वाणिज्य उपाध्यक्ष इन्द्रदेव पन्तको संयोजकत्वमा स्टल तथा पूर्वाधार समिति बनाइएको छ ।
महासचिव मिलनराज अवस्थीको नेतृत्वमा सचिवालय तथा प्रचारप्रसार समिति, उद्योग उपाध्यक्ष केशववहादुर पालको नेतृत्वमा सांस्कृतिक तथा मञ्च व्यवस्थापन समिति बनाइएको छ । पाल नेतृत्वको समितिले टिकट व्यवस्थापनको समेत कार्य गर्ने अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।
कार्य समिति सचिव सर्पराज बडूको नेतृत्वमा सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक समिति सुरेशसिह थापाको नेतृत्वमा कलाकार व्यवस्थापन समिति र कोषाध्यक्ष हंसराम कुवरको नेतृत्वमा विशेष समिति बनाइएको छ । महोत्सवको प्रभावकारी तयारी र व्यवस्थापनका लागि दुइटा छुट्टाछुट्टै समिति बनाइएका छन् । स्थानीय तहहरुसंग समन्वय गर्न र प्रदेश तथा संघ सरकारसंग समन्वय गर्न दुइटा छुट्टै समिति बनाइएको छ । दुबै समितिको संयोजक भने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्ना रहनुभएको छ ।
दार्चुला सदरमुकाममा सञ्चालन हुने दार्चुला महोत्सवका लागि बीरेन्द्रवनस्थित नेपाली सेनाको मैदान उपलब्ध गराउन दुर्गादल गुल्मसंग अनुरोध गर्ने निर्णय पनि गरिएको छ । यसअघि २०७३ सालमा सञ्चालन गरिएको दार्चुला महोत्सव पनि बीरेन्द्रवन क्षेत्रकै सैनिक मैदानमा सञ्चालन गरिएको थियो ।