दार्चुला महोत्सवका लागि नौगाड गाँउपालिकाले ६ लाख बजेट दिने

0
2638

दार्चुला, मंसिर 14 गते ।
दार्चुला महोत्सवका लागि नौगाड गाँउपालिकाले ६ लाख रुपैयाँ बजेट दिने भएको छ । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ २५ देखि फागुन ५ गतेसम्म आयोजना गरिने महोत्सवका लागि गाँउपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरेको हो ।
महोत्सवका लागि गाँउपालिकाले बजेट दिने विषयमा विहिवार दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । समग्र जिल्लाकै कार्यक्रम भएकाले गाँउपालिकाको तर्फबाट बजेटसहित सहभागिताको प्रतिवद्धता गरिएको नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो ।
दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले जिल्लाका सबै स्थानीय तहसंग आर्थिक साझेदारी गरी महोत्सव सञ्चालन गरिने बताउनुभयो । मंसिर पहिलो साता महाकाली नगरपालिकाले महोत्सवका लागि ८ लाख रुपैयाँ बजेट दिने प्रतिवद्धता गरिसकेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा महाकाली नगरपालिका सहआयोजक समेत रहने भएको छ ।
दार्चुलाका बाँकी सबै स्थानीय तहहरुलाई दार्चुला महोत्सवको उपआयोजक बनाइने उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाको भनाई छ । महोत्सव आयोजनाका लागि प्रदेशसभा सदस्यद्वय गेल्बुसिह बोहरा र मानवहादुर धामीले समेत आर्थिक सहयोगको प्रतिवद्धता गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो । जिल्लास्थित विभिन्न निकाय र पक्षसंग पनि महोत्सव आयोजनामा सहकार्य गरिन लागेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।