दार्चुला महोत्सवको उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने

0
2675
    दार्चुला, माघ १९ गते ।
    माघ २५ देखि सुरु हुने दार्चुला महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन् । १० दिनसम्म सञ्चालन हुने सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा उपप्रधामन्त्री पोखरेल प्रमुख अतिथि हुने आयोजकले बताएका छन् ।
    नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दार्चुला उद्योग वाणिज्य संघले महोत्सवको सञ्चालन गर्न लागेको हो । महाकाली नगरपालिका महोत्सवको सहआयोजक रहेको छ भने दार्चुलाका बाँकी सबै स्थानीय तह महोत्सवका साझेदार छन् ।
    दार्चुला सदरमुकाम खलंगास्थित वीरेन्द्रवन क्षेत्रमा सञ्चालन हुने महोत्सवको तयारी तिब्र भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । प्रमुख अतिथिको टुंगो लागिसकेपछि महोत्सवको प्रचारप्रसार कार्यलाई प्राथमिकता दिइएको ठगुन्नाको भनाई छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेल हेलिकोप्टरमार्फत दार्चुला महोत्सवको उद्घाटन गर्न माघ २५ गते दार्चुला आउनेछन् ।
    दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाको पहलमा प्रमुख अतिथिको भ्रमण सुनिश्तित गरिएको दार्चुला उवासंघ अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य ठगुन्नाका साथै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई समेत आमन्त्रण गरिन लागेको संघका सचिव सर्पराज बडूले बताउनुभयो ।
    महोत्सवको समापनमा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता हुने आयोजकले बताएका छन् । महोत्सवबारे जानकारी दिन माघ दोस्रो हप्ता दार्चुला उद्योग वाणिज्य संघको टीमले राजधानी काठमाण्डौमा प्रतिनिधिसभा सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा पत्रकार सम्मेलन समेत गरेको थियो ।