दुइ हप्तामा तावाघाट पुल तयार

0
2028

दार्चुला, माघ १९ गते ।
भारतको धारचुला तहसिलअन्तर्गत तावाघाटमा मोटरपुल तयार गरिएको छ । कैलाश मानसरोवर यात्रा मार्गमा पर्ने धौलीगंगा नदीमा बेलिब्रिज तयार गरिएको छ ।
दुई हप्ताअघि पुल भत्किएकै ठाँउमा नयाँ पुल राखिएको छ । सिमा सडक संगठनले १३ दिनमा पुल तयार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५५ मिटर लामो बेलिब्रिज तयार गर्न दैनिक ५० जनाको कामदार टोली परिचालन गरिएको थियो ।
शुक्रवार बेलुकीबाट नयाँ पुलमा यातायात सुचारु गरिएको हिन्दुस्तान दैनिकले जनाएको छ । मोटरपुल राखिएपछि व्यास क्षेत्रका एक दर्जन गाउँका वासिन्दाको यातायात सेवा सहज भएको छ । १८ टन क्षमताको बेलिब्रिजमा ३२ टन क्षमताको एक्साभेटर मेसिन ट्रकमा ढुवानी गरिदा पुल भत्किएको थियो । सिमाक्षेत्रको सडक निर्माणमा संलग्न नीजि कम्पनी गर्ग एण्ड गर्गले मेसिन ढुवानी गर्नेक्रममा मोटरपुल भत्किएको हो । भारतीय प्रशासनले कम्पनीविरुद्ध मुद्दा चलाएको छ ।
नयाँ मोटरपुल राखिएपछि भारतीय गाउँका साथै नेपालको व्यास गाउँपालिकाका वासिन्दाको आवतजावत पनि सहज बनेको छ । गाउँपालिका केन्द्र सुन्सेराका साथै, सिना, राप्ला, माल, दुम्लिङ क्षेत्रका वासिन्दा भारतको तावाघाट सडक मार्ग भएर खलंगासम्म आवतजावत गर्दछन् ।