दुई सय संस्था खारेजीको सूचीमा

0
2616

दार्चुला, मंसिर ११ गते ।
दार्चुलामा दर्ता भइ लामो समयदेखि क्रियासिल नरहेका दुइसयभन्दा संघसंस्थाहरु खारेजीको सूचीमा रहेका छन् । गत जेठ २४ गतेको गृहमन्त्रीस्तरीय निर्णयसंगै वार्षिक रुपमा नविकरण नभएका निस्क्रिय संस्थाहरुकोे विवरण स्थानीय प्रशासनले तयार गरेको हो ।
जेठदेखि जिल्ला प्रशासन कार्यालयले दुईपटक संस्था नविकरणको अवसर दिदै सार्वजनिक सुुचना पनि जारी गरिसकेको छ । विगत ३ वर्षदेखि नविकरण नभएका संस्थाहरुलाई दुई पटक सुचना प्रकासित गरी नविकरणको अवसर दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सुरुमा जेठ ३१ गते १५ दिने सुचना प्रकासित गरिएको थियो । गृह मन्त्रालयको सर्कुलरअनुसार असोज ७ गते दोस्रो पटक ३५ दिने सुचना प्रकासित गरी संस्था नविकरणको अवसर दिइएको छ ।
यस अवधिमा २ वटा संस्थाले मात्रै नविकरण गराएका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचस्थित लेकवेशी ग्रामिण सामुदायिक संस्था र खलंगाको सामाजिक सशक्तिकरण तथा महिला सचेतना संस्थाले नविकरण गरेको नायवसुब्बा पदमराज भट्टले बताउनुभयो । लेकवेशीले ६ हजार ६ सय रुपैयाँ र सामाजिक सशक्तिकरणले ८ हजार १ सय रुपैयाँ जरिवाना र नविकरण शुल्क तिरेर संस्था नविकरण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार जिल्लाभरी हालसम्म दर्ता भएका संस्थाहरुको संख्या ३ सय १० पुगेको छ । यीमध्ये ३ वर्षभन्दा बढी समयदेखि नविकरण हुन नसकेको संस्था २ सय १ छन् । वार्षिक रुपमा नविकरण हुँदैआएका र ३ वर्षसम्म नविकरण हुन नसकेको संस्थाहरुको संख्या १ सय ९ रहेको नासु भट्टले बताउनुभयो ।
जिल्लाभरीका संस्थाहरुको नविकरण विवरण तयार गरिएको छ । गृह मन्त्रालयको निर्देशन आएपछि संस्था खारेजीको प्रक्रिया सुरु हुने नासु भट्टले बताउनुभयो । ‘जिल्लाका सबै संस्थाहरुको नविकरण विवरण तयार भएको छ, मन्त्रालयबाट निर्देशन आएपछि कारवाही प्रक्रिया बढाउनेछौ’ उहाँले भन्नुभयो ।
तीन वर्षभन्दा बढी समयदेखि नविकरण नभएका संस्था मात्रै २ सय १ छन् । ३ वर्षदेखि नविकरण हुन नसकेका संस्थाको समेत खारेजी प्रक्रिया सुरु भए अढाइ सयभन्दा बढी संस्था खारेजीमा पर्ने अवस्था छ ।