दुहुँमा कार्यालय सहयोगीको छ महिनासम्म नतिजा आएन

0
2075

दार्चुला, माघ १२ गते ।
दुहुँ गाउँपालिकामा परीक्षा लिएको ६ महिनासम्म कार्यालय सहयोगीको नतिजा सार्वजनिक गरिएको छैन । गाउँपालिकाअन्तर्गतका निकायहरुका लागि करार सेवा ३ जना कार्यालय सहयोगी भर्नाको विज्ञापन साउन १० मा खोलिएको थियो ।
साउन महिनाको अन्तिममा छनौटका लागि अन्तर्वार्ता लिइएकोमा हालसम्म नतिजा सार्वजनिक गरिएको छैन । ‘कार्यव्यस्तता, चाडपर्व र विद्युत आपुर्तिका कारण नतिजा निकाल्न ढिलाइ भएको’ प्रमुख प्रशासकीय अधिकृत महेशवहादुर बमले बताउनुभयो ।
गाउँपालिकाले करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि गतवर्षको भदौमा निर्माण गरेको छ । कार्यविधिको व्यवस्थाअनुसार अन्तर्वार्तामार्फत कार्यालय छनौट गरिन लागेको गाउँपालिकाले जनाएको छ ।
कार्यालय सहयोगीको ३ पदका लागि ४६ जनाले दरखास्त दिएका थिए । अन्तर्वार्तामा भने २६ जना सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत महेशवहादुर बमले बताउनुभयो । ‘आजभोलि नै नतिजा प्रकासित गर्ने गृहकार्यमा छौ’ उहाँले भन्नुभयो ।
करारमा कर्मचारी पदपूर्तिका लागि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा छनौट समिति रहने कार्यविधिको व्यवस्था छ । छनौट समितिमा गाउँपालिका अध्यक्षले तोकेको विज्ञ र सम्बन्धित शाखाको प्रमुख सदस्य रहने प्रावधान छ ।
गाउँपालिकाले ६ महिनासम्म कार्यालय सहयोगीको नतिजा सार्वजनिक नगर्नुले सुशासनको धज्जी उडाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य नरेन्द्रसिह बडालले बताउनुभयो । ‘जनप्रतिनिधिहरुबीच भागवण्डा नमिल्दा कर्मचारी छनौटमा ढिलाइ भएको’ बडालको भनाई छ । ‘आफु निकटका धेरै उम्मेदवार भएकोले जनप्रतिनिधिहरुले कर्मचारी छनौटमा ढिलाइ गराएको’ उहाँको आरोप छ ।
दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्कीले केही महिनाअघि अख्तियारले दिएको ६० बुँदे निर्देशनका कारण कर्मचारी भर्नामा ढिलाइ भएको बताउनुभयो । ‘स्वीकृत दरबन्दीमा मात्र कर्मचारी भर्ने अख्तियारको निर्देशनले ढिलाइ भएको हो’ उहाँले भन्नुभयो । दुइटा कार्यालय सहयोगीका दरबन्दी पहिलादेखि नै खालि रहेको र पछिल्लो समय थप एक कार्यालय सहयोगीको दरबन्दी खाली भएपछि तिनवटै कार्यालय सहयोगी पदको नतिजा सार्वजनिक गरिन लागेको’ उहाँले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार एक हप्ताभित्र कार्यालय सहयोगीको नतिजा आउनेछ ।