दुहुँ र व्यास गाउँपालिकाले प्रशासनिक भवन बनाउने

0
2122

दार्चुला, पुष १२ गते ।
नेपाल सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराउने सम्पूरक अनुदानबाट दुहुँ र व्यास गाउँपालिकाले गाउँ कार्यपालिकाको प्रशासनिक भवन बनाउने भएका छन् । भवन निर्माण सम्बन्धि प्रस्ताव नेपाल सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेको छ ।
दुहुँ गाउँपालिकाको भवन चालु वर्षबाट निर्माण सुरु गरी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी नेपाल सरकारसंग सम्पूरक अनुदान मागिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्कीले बताउनुभयो । भवन निर्माणका लागि ८ करोड ३१ लाख ७२ हजार ८ सय ३३ रुपैयाँ बजेट खर्च हुने अनुमान छ । कुल लागतको आधा रकम नेपाल सरकार र आधा रकम गाउँपालिकाले खर्च गर्ने प्रस्ताव छ ।
नेपाल सरकारले पहिलो वर्ष भवन निर्माणका लागि १ करोड ११ लाख रुपैयाँ बजेट दिएको छ । नेपाल सरकारसंग भवन निर्माणमा जम्मा ४ करोड १५ लाख ८६ हजार ४ सय १७ रुपैयाँ बजेट मागिएको छ । ‘प्रशासनिक भवनलाई प्राथमिकता दिएर नेपाल सरकारबाट प्राप्त हुने सम्पूरक अनुदानबाट निर्माण गर्ने योजना बनाएका छौ’ दुहुँ गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो ।
व्यास गाउँपालिकाले पनि चालु वर्षबाटै प्रशासनिक भवन बनाउने भएको छ । नेपाल सरकारसंग भवन निर्माणका लागि गाउँपालिकाले सम्पूरक अनुदान मागेको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । संघीय सरकारले चालु वर्षमा व्यास गाउँपालिकाको भवन निर्माण गर्न १ करोड ७६ लाख रुपैयाँ सम्पूरक अनुदान दिएको छ ।
भवनको कुल लागत ९ करोड ८० लाख ६ हजार ५८ रुपैयाँ रहेको छ । संघीय सरकारबाट लागतको आधा रकम व्यहोरिनेछ । दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले बताउनुभयो ।