दोस्रो वर्ष पनि बजेट बाँडफाँडमा बमको सहभागिता भएन

0
2078

दार्चुला, माघ १३ गते ।
नेपाली काग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशसभामा सदस्य रहेका नन्दा बमको यसवर्ष पनि ३ करोडको बजेट बाँडफाँडमा सहभागिता भएको छैन । प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा प्रदेशसभा सदस्यहरुले बाडफाँड गर्ने बजेटमा गतवर्ष पनि उहाँको सहभागिता थिएन ।
प्रदेशसभा सदस्यहरुबीच आपसी समन्वय र सहमति हुन नसक्दा बजेट बाँडफाँडमा प्रतिपक्षी दलका सदस्यको सहमति नभएको हो । प्रदेशसभामा लेखा समिति सभापति समेत रहनुभएका बमको गतवर्ष जस्तै यो वर्ष पनि बजेटमा सहभागिता रहेको छैन ।
बमले गतवर्षको २ करोड बजेटमा ४० प्रतिशत बजेट आफ्नो प्राथमिकतामा छुट्याउन माग गरेको कार्यक्रम छनौट तथा निर्देशक समितिका संयोजक गेल्बुसिह बोहराले बताउनुभयो । गतवर्ष बढी बजेट माग गर्दा बमको प्राथमिकताअनुसार योजना छनौट गर्न नसकिएको उहाँले बताउनुभयो । यद्यपि अन्तिम समयसम्म यसबारे सहमति जुटाउने प्रयास आफुले गरेको बोहराको भनाई छ ।
प्रदेशसभा सदस्य बमले भने सत्तापक्षका सदस्यहरुको पूर्वाग्रह र अहंकारले सहमति हुन नसकेको बताउनुभयो । ‘गतवर्षको जस्तै यसपाली पनि व्यवहार दोहोरिएको छ, मैले समयमै सम्पर्क गरी सरोकार देखाए तर एकपक्षीय ढंगले बजेट बाडियो’ उहाँले भन्नुभयो ।
कार्यक्रम छनौट तथा निर्देशक समितिको बैठकमा सहभागी नभए पनि प्रदेशसभा सदस्य बमले जिल्ला समन्वय अधिकारीमार्फत ७५ लाखका योजना तथा कार्यक्रम पठाएका थिए । तर आफ्नो प्राथमिकतामा कुनै पनि योजना तथा कार्यक्रम छनौट नगरिएको प्रदेशसभा सदस्य बमले बताउनुभयो ।
बैठकमा उपस्थित भएर छलफल गरेको भए प्रदेशसभा सदस्य बमको प्राथमिकतामा ५० लाख बजेट दिने तयारी आफुले गरेको संयोजक गेल्बुसिह बोहराको भनाई छ । ‘बैठकमा अनुपस्थित र छलफलमा सहभागी नभएपछि उहाँका प्रस्तावहरु सम्बोधन हुन नसकेको हो’ नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य बोहराले भन्नुभयो ।