धारचुलामा अलपत्र नेपालीहरुका लागि भारतले ५ ठाउँमा क्वारेन्टाइनको ब्यवस्थापन गर्ने

0
1521

पदम बडाल, दार्चुला
दार्चुला जिल्लाको सिमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ ।
नेपालमा रहेको भारतीयहरुको नेपालले र भारतमा रहेका नेपालीहरुको भारत सरकारले व्यवस्था गर्ने सहमति अनुसार धारचुला क्षेत्रमा रहेका करिब ५ सय नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो ।
नेपाल र भारतमा लक डाउन नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिल कुमार सुक्लले जानकारी दिनु भएको छ ।
धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीहरुलाई पाँच ठाउँमा राखिने छ । धारचुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौसाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीहरुको व्यवस्थापन गरिने उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले बताए । आज भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालमा नेपालीहरुलाई राखिने छ ।


पटक पटक अनुरोध गर्दा नि नेपालले सुनेनः उपजिल्ला अधिकारी

फाइल फोटोः भारतको धारचुलाका उपजिल्ला अधिकारीअनिल कुमार शुक्ला


उपजिल्ला अधिकारी सुक्लले नेपाल सरकारका प्रतिनिधिहरुलाई पटक पटक नेपालीहरुलाई आफ्नो देश लैजान आग्रह गर्दा पनि नसुनेको बताएका छन् ।
उनीहरुमा आफ्नो देश र परिवारसँग बस्ने उत्कट ईच्छा देखिएको भएपनि नेपाल सरकारले उनीहरुको समस्या सम्बोधन गर्न नसकेको तर आफूहरुले नेपालीहरुको खाने, सुत्ने र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको जानकारी गराएका छन् ।
नेपाल सरकारले चाँडै आफ्नो नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सके आफू समन्वय गर्न तयार रहेको उनी बताउँछन् । ‘कोरोनाको प्रकोप यता देखियो भने नेपालीभन्दा भारतीय नै प्राथमिकता पर्ने भएकाले नेपालीहरुलाई नेपाल मै व्यवस्था गर्नु उचित हुन्छ ।’ उपजिल्ला अधिकारी सुक्लले भने ।

लक डाउन भनेको जो जहाँ छ, त्यही बस्ने होः प्रजिअ पौडेल
नागरिकहरुले लक डाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर धारचुलामा जम्मा भएको बताउँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकहरुलाई संयमित भएर घरमा बस्न आग्रह गरेका छन् ।
भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीहरुले पनि जहाँ छ त्यही बस्नु पर्ने र उनीहरुको व्यवस्था भारत सरकारले गर्ने प्रजिअ पौडेल बताउँछन् । ‘लक डाउन भनेको आवागमन बन्द गर्नु हो, भारत र नेपाल कही पनि आवतजावत गर्न पाइदैन ।’ प्रजिअ पौडेलले भने ।

तरेर आउने तिन जना सम्बन्धित पालिकाको जिम्मा
नेपाल भारत जोड्ने पुल नखोलिएपछि दिउँसो महाकाली नदीमा पौडेर आएका तिन जनालाई उनीहरुको पालिकाको जिम्मा लगाइएको छ ।
आज दिउँसो बैतडी डिलाशैनीका इन्द्रसिह खाती र धनबहादुर धामी तथा दार्चुला मार्मा गाउँपालिका वडा नम्बर ३ का रमेश बिस्ट महाकाली तरेर दार्चुला प्रवेश गरेका थिए । उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको प्रजिअ पौडेलले बताउनु भएको छ । ‘१४ दिन क्वारेन्टाइनमा सर्त सहित उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको छ ।’ उनले भने ।
प्रहरी चौकीमा ढुंगा प्रहार र आपसमा झगडा
धारचुलामा रहेका नेपालीहरुले पुल नखोलेको भन्दै दिउँसो पुल क्षेत्रमा नेपालतिर रहेको प्रहरी चौकीमाथि ढुंगा प्रहार गरेका थिए ।
महाकाली पारीबाट ढुंगा हान्ने र गाली गर्ने काम निरन्तर भएपछि भारतीय प्रशासनलाई त्यसको जानकारी दिएर साम्य पार्न लगाइएको थियो ।
नेपालको प्रहरी चौकीमाथि ढुंगा हान्ने र नहान्ने दुई समूहमा नेपालीहरु विभाजित भएको र सोही विषयलाई लिएर आपसमा झगडा समेत भएकाले स्थिति नियन्त्रणमा लिन एसडिएम समेत घटना स्थलमा आउनु परेको धारचुलाका स्थानीय पत्रकार राकेश तिवारी बताएका छन् ।