धारचुलामा पाँच किलो चरेशसहित नेपाली पक्राउ

0
2778

दार्चुला, भदौ ८ गते ।
भारतको धारचुलामा झण्डै ५ किलोग्राम चरेशसहित एकजना नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीले धारचुलाको घट्टेधारको माथि टिभिटावरको नजिकबाट ४२ वर्षिय बल्देवसिह महरलाई पक्राउ गरेको हो ।
महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका वासिन्दा महरको साथबाट ४ किलो ८ सय २५ ग्राम चरेश उत्तराखण्ड प्रहरीले बरामद गरेको छ । विहिवार अपरान्ह साढे ४ बजे महरलाई पक्राउ गरिएको जानकारी दार्चुला प्रहरीले दिएको छ ।
उत्तराखण्ड प्रहरीले धारचुलामा पक्राउ गरेकाले भारतकै कानुन अनुसार कारवाही हुने दार्चुला प्रहरीका प्रवक्ता हिक्मतवहादुर बोहराले बताउनुभयो । नेपाल प्रहरीलाई घटनाबारे औपचारिक जानकारी नभएको उहाँको भनाई छ ।
महरसंगै धारचुला तहसिलअन्तर्गतको खेला गाँउका एकजनालाई पक्राउ गरिएको थियो । तर घटनामा संलग्न नभएको भन्दै उनलाई विहिवार बेलुकी नै छोडिएको स्रोतले बतायो । चरेशसहित समातिएका महरलाई भने थप अनुसन्धानका लागि शुक्रवार विहान पिथौरागढ पठाइएको छ ।
महाकाली नदीमा सञ्चालित तिगरम पुल वा तुइनमार्फत नेपालबाट चरेश लगेको हुनसक्ने आशंका गरिएको छ । धारचुला हुँदै टनकपुरतर्फ चरेश लग्ने तयारीमा उत्तराखण्ड प्रहरीले चरेश र मान्छेलाई पक्राउ गरेको स्रोतको भनाई छ ।
भारतको वनवासा, टनकपुर, चम्पावत, पिथौरागढ लगायतका क्षेत्रमा प्रहरीले प्राय महिनैपिच्छे चरेश बरामद गर्दैआएको छ । नेपाल र भारतको पश्चिमी सीमाक्षेत्रमा चरेश र लागू औषध तस्करहरुको सञ्जाल नै रहेको आशंका गरिएको छ ।