धारचुलामा मतदान शान्तिपूर्ण, ६० प्रतिशत मतदान, सोमबार विहानदेखि पुल खुल्ने, मतगणना मंगलवार

2426

दार्चुला, मंसिर २ गते ।
भारतको धारचुला नगरपालिकामा आइतवार शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । नगरपालिका परिषद्का लागि आइतवार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गरिएको हो । धारचुला नगरपालिकासहित पिथौरागढ जिल्लाका पिथौरागढ र डीडीहाट नगरपालिका तथा गंगोलीहाट र बेरिनाग नगर पञ्चायतमा आइतवार मतदान भएको हो ।
आइतवारको मतदान कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आइतवारको मतदानमा ६० प्रतिशतभन्दा बढी मतदाता सहभागी भएका छन् ।
निर्वाचनका कारण कार्तिक ३० गते साँझदेखि बन्द गरिएको नेपाल र भारत जोड्ने महाकाली नदीको पुल सोमबार विहानदेखि खुल्ने भएको छ । दुबै देशको प्रशासनिकस्तर समन्वय गरी पुल बन्द गर्ने र खोल्ने समयतालिका बनाइएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो । सोमबार विहान पूर्ववत समयतालिका अनुसार ६ः४५ बजे पुल खुल्नेछ ।
आइतवार सम्पन्न नगरपालिका निर्वाचनको मतगणना मंगलवार गरिने भएको छ । धारचुला नगरपालिकामा ३ हजार ७ सय ९६ मतदाता रहेका छन् भने ७ वटा मतदान केन्द्र तोकिएका थिए । नगरपालिकाको अध्यक्ष पदमा भाजपा, काग्रेस आई र दुईजना स्वतन्त्र गरी ४ जनाको उम्मेदवारी रहेको छ । धारचुला नगरपालिका अध्यक्ष पद महिला उम्मेदवारका लागि आरक्षित गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !