धारचुलामा आठ किलो चरेशसहित दुई नेपाली पक्राउ

0
2106

दार्चुला, माघ १९ गते ।
उत्तराखण्ड प्रहरीले ८ किलो चरेशसहित धारचुला बजारबाट २ नेपालीलाई पक्राउ गरेको छ । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले माघ १६ गते धारचुला नगरको आर्मी चोकबाट ४० वर्षिय प्रेमसिह ठेकरे र ५५ वर्षिय पदमसिह ठेकरेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने दुबै जना नौगाड गाउँपालिका वडा नम्बर १ इयरकोटका वासिन्दा हुन् । प्रेमसिह ठेकरेको झोलाबाट ४ किलो ५२२ ग्राम र पदमसिह ठेकरेको झोलाबाट ३ किलो १५८ ग्राम चरेश बरामद गरिएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
नेपालबाट भारतको पिथौरागढ लगेर चरेश विक्री योजना थियो । दुबैजनाले प्रहरीको विशेष टोलीले गाडी चढ्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरिएका दुबैजना विरुद्ध लागूऔषध ओसारपोसार सम्बन्धि एनडिपिएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले बताएको छ ।
बरामद गरिएको चरेशको मूल्य ७ लाख भारु रहेको प्रहरीको भनाई छ । दार्चुला नाकाबाटै चरेश भारत लगिएको आशंका गरिएको छ । भारतको धारचुलामा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलंगास्थित सिमानाकाको चेकजाँचमा कडाइ गरिएको छ । नेपालतर्फ पनि सुरक्षा चेकजाँच र निगरानी बढाइएको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो ।