नयाँ किरण

0
2518

सरकारले युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ सहुलियत दरमा ऋण प्रवाह गर्ने योजना नीति तथा कार्यक्रम मै समेटेर सुरु गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक हुँदा निक्कै महत्वाकांक्षी र कार्यान्वयन नै नहुन सक्ने दावी र आशंका गरिएका कार्यक्रम मध्ये एक कार्यक्रम वैदेशिक रोजगारीबाट फर्किएर आउने युवाहरुलाई लक्षित गरी प्रवाह गरिने ऋण पनि थियो । सहुलियत दरमा ऋण प्रवाहमार्फत युवाहरुले विदेशमा सिकेको सीपमार्फत नेपालमा समृद्धिको सुरुवात गर्ने सरकारको दीर्घकालीन योजनाको प्रक्रियाको सुरुवात भएसँगै युवा रोजगारी र समृद्धिको दिशामा आशाका किरणहरु देखिन थालेका छन् । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई ऋण प्रवाह गर्ने जिम्मेवारी दिइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारबाट फर्किका युवाहरुलाई ऋण प्रवाह गर्ने प्रक्रिया थालनी भएपछि युवा रोजगारको नयाँ किरण देखिएको छ ।
पछिल्लो तथ्यांक हेर्ने हो भने बोर्डमा अठार हजारभन्दा बढि युवाले प्रत्यक्ष आएर ऋणका लागि निवेदन दिएका छन् भने दुई हजारले अनलाईनमार्फत यस्तो निवेदन दिएका छन् । सरकारले प्रवाह गर्ने सहुलियत ऋणको प्रवाह यही संख्यालाई पनि गर्ने हो भने करिब बिस अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रवाह गर्नुपर्ने छ । बिस हजार युवालाई आफ्नो व्यवसाय गर्न ऋण प्रवाह गर्ने हो भने अब सरकारले बैंकहरुलाई बिस अर्ब रुपैयाँ मौज्दात राखेर ऋण प्रवाह गर्न निर्देशन गर्नु पर्ने छ । यो गणितीय तथ्यांकले काम गर्दै गर्ला तर हुनै सक्दैन भनिएको वैदेशिक युवा रोजगारी कार्यक्रमले कार्यान्वयनको सुरुवात गरेसँगै युवाहरुमा स्वदेशमै केही गर्नु पर्छ भन्ने जागरण कायमै रहेको प्रष्ट हुन्छ । सरकारले वातावरण सिर्जना गर्ने हो भने विदेशबाट फर्किएका युवाहरु मात्रै स्वरोजगारमा जुट्ने छैनन् विदेशमा रहेका युवाहरुले पनि यस्तो कार्यक्रमका लागि ठूलो रकम सहयोग गर्न तयार रहेको प्रमाणित गर्नेछन् ।
ऋण प्रवाह गर्ने तरिका र प्रवाधानहरु, किस्ता बुझाउने सिमा र समय जस्ता कुराहरुमा युवाहरुलाई सहुलियत दिइनु पर्दछ । कुनै पनि युवाले रकम डुबाउन व्यवसाय गर्ने छैन तसर्थ बाञ्छनीय कारण देखिए ऋण समेत मिनाहा गर्ने योजना तयार पार्नु पर्दछ तर यसका लागि प्रष्ट कारणहरु भने उल्लेख गर्नुपर्ने कानुनी प्रावधान तयार पारिनु पर्दछ । त्यसैगरी युवाहरुले पनि प्रष्ट योजना, विज्ञहरुको परामर्श, उत्पादनको वर्तमान बजारको अवस्था र सरकारले उपलब्ध गराउन सक्ने वजारको आँकलन, बैंकलाई बुझाउनु पर्ने किस्ताको जोहो कसरी गर्ने भन्ने सम्मको तयारी गर्नुपर्ने हुन्छ । हचुवाका भरमा व्यावसाय सञ्चालन गर्ने र आफू ऋणमा डुब्ने काम युवाहरुले गर्नु हुँदैन ।