नागरिकता पाएकै दिन मृत्यु

0
2276

दार्चुला, फागुन २३ गते ।
दुहुँ गाँउपालिका वडा नम्बर २ हिकिलाका १७ वर्षिय निर्मला बडालले नेपाली नागरिकता प्राप्त गरेकै दिन ज्यान गुमाएका छन् । दार्चुला तिंकर सडकको राताकाठामा भएको जीप दुर्घटनामा बुवा कल्यानसिह बडालसंगै उनको ज्यान गएको हो ।
नागरिकता बनाउन बुवाछोरी फागुन १७ गते विहान ८ बजे घरबाट सदरमुकाम हिडेका थिए । बेलुका घर फर्किने क्रममा राताकाठामा जीप दुर्घटना हुँदा दुबैको घटनास्थलमै मृत्यु भयो ।
विहान नागरिकता बनाउन भनेर सदरमुकाम गएका दुबै जनाको दुर्घटनामा मृत्यु भएपछि परिवारजन शोकमा छन् । “विहान सदरमुकाम जादा नागरिकता बनाएर बेलुकी घर फर्किने बताएका थिए, तर नागरिकता बनाएर घर नपुग्दै दुखद् खबर आयो” निर्मलाको घरमा बस्दैआएका दुहुँ गाउँपालिकाका सहलेखापाल प्रेमवहादुर खडकाले भन्नुभयो ।
गौरिलमाण्डौ मावि हिकिलामा कक्षा १२ मा अध्ययनरत निर्मलाको जन्म २०५८ वैशाख २५ गते भएको थियो । अंग्रेजी मूल विषय लिएर अध्ययनरत निर्मला मिहनेती र पढाइमा अब्बल रहेको खड्काको भनाई छ ।
फागुन १७ गते दिउसो निर्मलाले बुवा कल्यानसिह बडालको सनाखतमा नागरिकता बनाएका थिए । निर्मलाका बुवा कल्यान गौरिलमाण्डौ हिकिलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुन् । २ वर्षदेखि विद्यालयको नेतृत्वमा रहेका बडाल समाजसेवी र मिलनसार व्यक्ति रहेको दुहुँ गाँउपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्की स्मरण गर्दछन् । “यो दुर्घटनामा हाम्रो लागि ठूलो पीडा र दुखदायी छ, धेरै मित्रहरुलाई गुमाएका छौ” गाँउपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “कल्यानजी एक सक्रिय समाजसेवी र इमान्दार सामाजिक पात्र थिए ।”