नेकपाको दार्चुला अध्यक्षमा खत्री र सचिवमा बडालको सम्भावना

2691


दार्चुला, भदौ ५ गते ।
नेकपाको पार्टी एकीकरणपछि जिल्ला नेतृत्वको गृहकार्य भइरहेको छ । सात नम्बर प्रदेशमा चार नेता सम्मिलित कार्यदलले संख्यात्मक र पदीय भागवण्डा टुंग्याएका छन् । दार्चुला जिल्लामा पार्टी अध्यक्षमा गणेशसिह खत्री र सचिवमा उदयसिह बडाल चयन हुने सम्भावना बढेको छ ।
काठमाण्डौमा दिनरात गरी नेताहरु नेतृत्व चयनको छलफल र गृहकार्यमा जुटिरहेका छन् । दार्चुलाको जिल्ला अध्यक्ष माओवादी केन्द्रको भागमा परेपछि कार्यदलले गणेशसिह खत्रीलाई सिफारिस गरेको स्रोतले बतायो । तत्कालिन माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रदेशसभा सदस्य मानवहादुर धामीले भने रामदत्त जोशी आरडीलाई जिल्ला अध्यक्षमा सिफारिस गरेका छन् ।
कार्यदलमा सम्मिलित नेताहरु भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मणदत्त जोशीले खत्रीलाई अध्यक्षमा सिफारिस गरेको हाल काठमाण्डौमा रहेका एक जिल्ला नेताले जानकारी दिए । कार्यदलका चारैजनाको सहमति भएपछि जिल्ला अध्यक्षमा खत्रीको सम्भावना बढी रहेको स्रोतको भनाई छ ।
एमालेको भागमा परेको सचिवमा तत्कालिन एमाले जिल्ला उपाध्यक्ष उदयसिह बडाल हुने सम्भावना बढेको छ । सचिवका लागि मोहनसिह धामी र ज्ञानेन्द्र घर्ति पनि आकांक्षी छन् । तर नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना धामी र घर्तिको रस्साकस्सीमा बडाललाई सचिव बनाउने तयारीमा रहेको एक नेताले बताउनुभयो ।
सचिव पदका लागि जहेन्द्रसिह ऐतवालको नाम पनि चर्चा छ । तर ऐतवाललाई जिल्ला कार्यालयमा पठाउने सम्भावना बढी रहेको स्रोतको भनाई छ । एमालेको भागमा परेको सचिवसहित ३ कार्यालय सदस्यमा मोहनसिह धामी, उदयसिह बडाल, ज्ञानेन्द्र घर्ति र जहेन्द्रसिह ऐतवालमध्ये तीनजनालाई जिम्मेवारी दिने तयारी छ । यी मध्ये एकजना बाहिरिने छन् ।
जिम्मेवारी बाँडफाँडका लागि काठमाण्डौमा नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना, तत्कालिन एमाले जिल्ला अध्यक्ष रामदत्त जोशीलगायतका नेताहरु दिनहु छलफलमा रहेको एक नेताले फोनमा जानकारी दिनुभयो ।
माओवादीमा कस्को सम्भावना कहाँ ?
पार्टी एकतापछि प्रदेश र जिल्लाको संरचना बनाइदैछ । माओवादी केन्द्रका नेता लक्ष्मणदत्त जोशी नेकपाको केन्द्रीय सदस्य बनिसकेका छन् । जोशी प्रदेश कमिटीको सचिव हुने सम्भावना धेरै छ ।
प्रदेशसभा सदस्य रहेका तत्कालिन जिल्ला इन्चार्ज मानवहादुर धामी प्रदेश कमिटीको कार्यालय सदस्य रहने स्रोतले बतायो । दार्चुलाबाट कृष्णसिह धामी, जमनसिह धामी, लालवहादुर विश्वकर्मा, करनसिह कार्की र मञ्जु बम प्रदेश कमिटी सदस्य बन्दैछन् । रामदत्त जोशी आरडी र प्रेमराज पन्तको नाम पनि प्रदेश कमिटीको चर्चा छ ।
जिल्ला अध्यक्षमा गणेशसिह खत्रीले जिम्मेवारी पाएपछि जिल्ला कार्यालय सदस्यमा कल्यानसिह धामी, पानसिह धामी र अन्य एकजनाले जिम्मेवारी पाउनेछन् । अध्यक्षसहित चारजना सदस्य माओवादीका तर्फबाट जिल्ला कार्यालयमा हुनेछन् । कार्यालय सदस्यमा रामदत्त जोशी र प्रेमराज पन्तमध्ये एकजना हुने सम्भावना बढी रहेको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !