नेकपाको प्रदेश कमिटीमा दार्चुलाका १२ नेता

0
3232

दार्चुला, मंसिर १२ गते ।
नेपाल कम्युनिष्ट पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीमा दार्चुलाका १२ नेताले स्थान पाएका छन् । नेकपाको मंसिर ७ गते सम्पन्न सचिवालय बैठकले प्रदेश कमिटीको अनुमोदन गरेपछि जिल्लाका दर्जन नेताहरुको प्रदेश कमिटीमा प्रतिनिधित्व निश्चित भएको हो ।
तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष रामदत्त जोशीसहित ४ जना र माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानवहादुर धामी सन्तोषसहित ८ जना प्रदेश कमिटीमा रहने भएका छन् । एमालेबाट तत्कालिन जिल्ला अध्यक्ष जोशीका साथै दुर्गा धामी, हरदेव जोशी र काशी विसी प्रदेश कमिटीमा रहेको नेकपाका जिल्ला नेता ज्ञानेन्द्र घर्तिले बताउनुभयो । एमालेबाट प्रदेश कमिटीमा प्रस्तावित भएका तत्कालिन जिल्ला उपसचिव चरनसिह बुढाथोकी र अधिवक्ता समेत रहनुभएका गगनसिह धामीको नाम भने प्रदेश कमिटीमा समावेश छैन ।
माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य समेत रहनुभएका मानवहादुर धामी सन्तोष, जमनसिह धामी, करनसिह कार्की, लालवहादुर विक, रामदत्त जोशी, लक्ष्मी विक, भगतसिह ठेकरे र दिपकप्रसाद जोशी प्रदेश कमिटीमा पुगेका छन् । माओवादी केन्द्रबाट कृष्णसिह धामी हिमाल, लिला कुवर, मञ्जु बमको नाम समेत प्रदेश कमिटीका लागि चर्चामा थियो । तर यी तिनैजनाको नाम प्रदेश कमिटीमा छैन ।
१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा ६१ जनाको सचिवालय र ९ जनाको कार्यालय टीम रहनेछ । दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेताहरु मानवहादुर धामी सन्तोष र तत्कालिन एमाले जिल्ला अध्यक्ष रामदत्त जोशी प्रदेश कमिटीको सचिवालयमा रहने निश्चित छ र्। केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटीमा समेत दोहोरो जिम्मेवारी नदिइए दुबैजना ९ जनाको कार्यालय टीममा समेत रहने सम्भावना छ’ नेकपा स्रोतले बतायो । यद्यपि नेकपा केन्द्रीय सदस्य रहेको नेताहरु प्रदेश कमिटीको भूमिकाका लागि समेत इच्छुक भएकाले केन्द्रीय सदस्यहरु प्रदेश कार्यालय टीममा बस्ने सम्भावना बढी छ ।
प्रदेश कमिटीको सचिवालय र कार्यालय टीम बन्न बाँकी छ । प्रदेश कमिटीको बैठकबाट सचिवालय र कार्यालय टीमको टुंगो लाग्ने नेकपाका नेता गणेशसिह खत्री पावेलले बताउनुभयो ।