नेकपा जिल्ला कार्यालयको दोस्रो बैठक

0
2045

दार्चुला, पुष ११ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुला जिल्ला कमिटी कार्यालयको दोस्रो बैठक शुक्रवार बसेको छ । नेकपा जिल्ला अध्यक्ष गणेशसिह खत्रीको अध्यक्षता सम्पन्न बैठकले सांगठनिक क्षेत्रका केही महत्वपूर्ण निर्णय गरेको जिल्ला सचिव उदयसिह बडालले बताउनुभयो ।
पार्टी एकीकरणपछि जिल्ला कार्यालय टीमको दोस्रो बैठक बसेको हो । बैठकले पार्टी गतिविधि र सांगठनिक अवस्थाबारे गम्भीर छलफल गरेको सचिव बडालले बताउनुभयो । कार्यालय बैठकले माघ ७ गते जिल्ला कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ । दार्चुलामा पार्टी एकीकरणपछिको पहिलो जिल्ला कमिटी बैठक गत असोज ८ गते बसेको थियो । यसैगरी कार्यालय टीमको पहिलो बैठक असोज ९ गते बसेको थियो ।
शुक्रवारको बैठकले पुष महिनाभित्र जिल्लाका सबै वडाहरुमा वडा कमिटीको गठन र सपथग्रहण कार्यक्रम सम्पन्न गरिसक्ने निर्णय गरेको थियो । कार्यालयको पहिलो बैठकले नौवटै स्थानीय तहमा पालिस्तरीय कमिटी गठन गरेको थियो भने वडास्तरमा कमिटी गठन र सपथग्रहणको कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको थियो ।
नेकपा दार्चुलाको कार्यालय टीममा अध्यक्ष र सचिवका साथै ज्ञानेन्द्र घर्ति, चरनसिह बुढाथोकी, कल्यानसिह धामी, पदमराज पन्त र पानसिह धामी सदस्य रहेका छन् । शुक्रवार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म लगातार ५ घण्टा बैठक सञ्चालन गरिएको छ । तत्कालिन माओवादी पार्टी कार्यालयको छतमा शुक्रवार दिनभरी नेकपा दार्चुलाका कार्यालय सदस्यहरु छलफलमा व्यस्त थिए ।
मालिकार्जुनमा पुष १८ गते छलफल गरिने
नेकपा पार्टी एकीकरणको सन्दर्भमा मालिकार्जुन गाउँपालिका कमिटीमा समस्या देखिएपछि पुष १८ गते गम्भीर छलफल गर्ने निर्णय गरिएको छ । गाउँपालिका कमिटी अध्यक्षमा तत्कालिन माओवादीबाट कृष्णराज पन्तलाई जिम्मेवारी दिइएपछि तत्कालिन एमाले पक्षका स्थानीय नेता, कार्यकर्ताले असहमति जनाउदै आएका छन् ।
गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिदा वरिष्ठताका आधारमा नगरिएको भन्दै अधिकांश एमाले पक्षधरहरुले असहमति जनाएका छन् । पुष १८ गते कार्यालय टीमका सातैजना सदस्य मालिकार्जुनको कार्यक्रममा सहभागी भई छलफल गर्ने निर्णय गरिएको जिल्ला सचिव उदयसिह बडालले बताउनुभयो । उक्त छलफलमा मालिकार्जुन गाउँपालिकाभरीका सबै जिल्ला कमिटी सदस्यहरु र गाउँपालिका कमिटिका सबै सदस्यहरुको अनिवार्य उपस्थिति गराउने निर्णय भएको छ ।
बजेट विनियोजनमा समन्वय अभाव
नेकपा दार्चुलाको कार्यालय बैठकले संघीय र प्रदेशसभा सदस्यहरुबाट गरिएको बजेट विनियोजनमा समन्वय अभाव रहेकोबारे छलफल गरेको छ । ‘बजेट विनियोजनमा समन्वय अभाव रहेको सबैजसो सदस्यहरुको भनाई थियो’ एक कार्यालय सदस्यले भन्नुभयो, ‘यसबारे छलफल गरिए पनि निर्णय भने केही गरिएन ।’
आगामी दिनमा जनप्रतिनिधिहरुले बजेट तथा कार्यक्रम बाँडफाँड गर्दा पार्टीसंग समन्वय गर्नुपर्नेमा सदस्यहरुले जोड दिएका छन् । संघीय र प्रदेशसभा सदस्यहरुको बजेट विनियोजनबाट मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोला र वडा नम्बर ४ हुनैनाथमा कुनै पनि योजना तथा बजेट विनियोजन नभएकोबारे बैठकमा छलफलमा गरिएको अर्का कार्यालय सदस्यले बताउनुभयो ।