नेकपा दार्चुलामा सदस्यता विवरण छैन

2054

दार्चुला, पुष १२ गते ।
पार्टी एकीकरणको लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरमा सदस्यता विवरण तयार हुन सकेको छैन । तत्कालिन माओवादीबाट सदस्यता विवरण उपलब्ध नगराइदा जिल्लाभरी पार्टी सदस्यहरुको अभिलेख नै तयार हुन सकेको छैन ।
केन्द्रमा पार्टी एकीकरणपछि गत जेठ अन्तिम साता दार्चुलाको जिल्ला कमिटीले पूर्णता पाएको थियो । जेठ अन्तिम साता नेकपामा केन्द्रीय नेताहरु भीम रावल, लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णवहादुर थापालगायतको उपस्थितिमा जिल्ला कमिटीका सदस्यहरुलाई सपथग्रहण समेत गराइएको थियो । जिल्ला कमिटीले पूर्णता पाएको सात महिनासम्म पनि सदस्यता विवरण तयार हुन नसकेको नेकपाकै नेताहरुले बताएका छन् ।
तत्कालिन एमालेले दार्चुला जिल्लाभरी ३ हजार ४ सय ७५ संगठित सदस्य संंख्या रहेको जानकारी दिएको छ । ‘तत्कालिन एमालेका तर्फबाट सदस्यता विवरण एक वर्षअघि नै तयार भइसकेको छ’ नेकपा जिल्ला सचिव उदयसिह बडालले भन्नुभयो, ‘२०७४ चैत्र मसान्तसम्मको सदस्यता नविकरण गरेर सबै विवरण तयार गरिएको छ, पार्टी केन्द्रको संगठन विभागबाट तत्कालिन एमालेको सदस्यता विवरण प्रमाणित समेत गरिएको छ ।’
तत्कालिन एमालेमा आवद्ध सबै संगठित सदस्यको विवरण २०७५ पुष महिनामै तयार गरिएको नेकपा जिल्ला सदस्य जहेन्द्रसिह ऐतवालले बताउनुभयो । तत्कालिन माओवादीका तर्फबाट भने सदस्यहरुको विवरण तयार हुन नसकेको उहाँको भनाई छ ।
औपचारिक र अनौपचारिक छलफलमा तत्कालिन माओवादीको तर्फबाट सदस्यहरुको विवरण तयार नभएकोबारे पटक पटक छलफल गरिएको नेताहरु बताउँछन् । अहिलेसम्म जिल्लाभरीको पार्टी सदस्यता विवरण तयार नभएको जिल्ला अध्यक्ष गणेशसिह खत्रीले बताउनुभयो ।
छलफलको क्रममा तत्कालिन माओवादीका तर्फबाट १ हजार १ सय ५० पार्टी सदस्य संख्या रहेको जानकारी दिइएको जिल्ला सचिव बडालले बताउनुभयो । तर सदस्यको नाम, ठेगाना, सदस्यता प्राप्त मितिसहितको विवरण भने तयार नभएको उहाँको भनाई छ ।
‘तत्कालिन माओवादीमा सदस्यताको विवरण अभिलेखिकरण नभएको हुनसक्छ’ नेकपा दार्चुलाका एक जिल्ला सचिवालय सदस्यले भन्नुभयो, ‘सदस्यता वितरण दुरुस्त भए किन यति लामो समयसम्म पार्टीमा पेश हुन सकेन त ?’ पार्टी सदस्यता विवरण पेश गर्न ‘तत्कालिन माओवादीका सबैजसो नेतालाई आग्रह गर्दा पनि एकीकृत पार्टी कमिटीमा पेश नभएको’ अर्का सचिवालय सदस्यले बताउनुभयो ।
नेकपाका दार्चुला जिल्ला अध्यक्ष गणेशसिह खत्री ‘आवश्यकता अनुसार सदस्यताको विवरण तयार गरेर प्रस्तुत’ गरिने बताउनुहुन्छ । ‘सदस्यताको विवरण प्रदेश कमिटीलाई बुझाइने’ पनि उहाँले बताउनुभयो । ‘जिल्लाभरी तत्कालिन माओवादीको सदस्यता संख्या १ हजार ४ सयको हाराहारीमा रहेको’ उहाँको भनाई छ ।
एकीकृत पार्टीको सदस्य संख्या नै यकिन नभएको अवस्थामा विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन हुन सक्नेमा नेकपाकै जिल्ला सदस्यहरुको शंका छ । ‘अहिलेसम्म सदस्यहरुको विवरण पार्टीसंग छैन भने कसरी पार्टी राम्रोसंग चल्छ ?’ १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा पछिल्लो पटक मात्रै प्रवेश पाएका एक युवा जिल्ला सदस्यले भन्नुभयो ।
निकट भविष्यमा जिल्ला अधिवेशन हुने चर्चा भए पनि सदस्यता विवरण नै तयार नभएको अवस्थामा अधिवेशन हुनेमा जिल्ला सदस्यहरुकै आशंका छ । ‘आगामी वर्षको सुरुवातीमै जिल्ला अधिवेशन हुने हल्ला छ तर आन्तरिक तयारी र व्यवस्थापन हेर्दा अधिवेशन हुनसक्ने सम्भावना थोरै पनि देखिदैन’ मालिकार्जुन गाउँपालिका घर भएका एक जिल्ला सदस्यले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !