नेपालमा जस्तै भारततर्फ पक्की तटबन्ध निर्माणको घोषणा

0
2687

दार्चुला, मंसिर २२ गते ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले धारचुलास्थित महाकाली किनारमा पक्की तटबन्ध बनाउने घोषणा गरेका छन् । शनिवार धारचुलामा आयोजित रं महोत्सवमा नेपालतर्फ निर्माण गरिएजस्तै भारततर्फ पनि नदी किनारमा पक्की तटबन्ध बनाइने बताएका हुन् ।
सन् २०१३ को वाढीपछि नेपालतर्फ पक्की संरचना निर्माण गरिएकाले धारचुलातर्फ जोखिम बढेको भन्दै स्थानीयले तटबन्ध निर्माणको माग गरेपछि मुख्यमन्त्रीले घोषणा गरेका हुन् । मुख्यमन्त्री भएपछि पहिलोपटक हेलिकोप्टरमार्फत धारचुला पुगेको रावतले नेपालतर्फ बनेको तटबन्धको संरचना हेलिकोप्टरबाट अवलोकन गरेको प्रसंग पनि राखेका थिए । मुख्यमन्त्री चढेको हेलिकोप्टर ल्याण्ड गर्नुअघि धारचुला र दार्चुला बजारको एकफन्को लगाएर हवाइ अवलोकन गरेको थियो ।
रं कल्याण संस्थाका संरक्षक एवं उत्तराखण्ड सरकारका पूर्व मुख्यसचिव नृपसिह नपलच्यालले धारचुला बजार क्षेत्रको सुरक्षाका लागि नदी किनारमा पक्की तटबन्धको आवश्यकता रहेको बताएका छन् । नेपालतर्फ निर्माण भएको तटबन्धको संरचनाबारे भारतीय पक्षबाट चर्चा हुने गरेको छ ।
मुख्यमन्त्री रावलले धौलिगंगा जलविद्युत परियोजनाको विद्युत गृह रहेको ऐलागाडदेखि धारचुलास्थित कुमाउ स्काउटसम्मको नदी किनार क्षेत्रमा पक्की तटबन्ध निर्माणको घोषणा गरेका छन् ।