नेपाल भारत जोड्ने पुल ४५ मिनेट बन्द

0
2289

पदम बडाल, ०९ चैत्र दार्चुला ।
नेपाल भारत जोड्ने दार्चुलाको खलंगा स्थित महाकाली नदी माथिको पुल भारतीय पक्षले आइतवार ४५ मिनेट बन्द गरेको छ ।
बिना पूर्व सूचना सिमा सुरक्षा बल (एसएसबी) ले पुल बन्द गरेको भारतीय प्रशासनले जानकारी दिएको छ । नियमित ६ः४५ मा खुल्नु पर्ने पुल नेपालतिर खुलिसक्दा भारततिर भने एसएसबीले पुल खोलेको थिएन । धारचुला क्षेत्रका एसडिएम अनिल कुमार शुक्लाले पुल बन्द गर्ने सरकारी निर्णय नभएकोले एसएसबीसँग कुरा गरेर तत्काल पुल खोल्ने बताएपछि ७ः३० बजे पुल खुलेको हो ।
महाकाली नदी माथि राखिएको लाली, जौलजिवी, दत्तु र हुतिमा रहेको पुलमा भने बिहानैदेखि सञ्चालनमा छन् ।
चार पुल खुलै
भारतमा जनता कफ्र्यु लागेको अवस्थामा खलंगामा ४५ मिनेट पुल बन्द भएको बाहेक भारतसित जोड्ने अन्य चार पुल भने बिहानैदेखि सञ्चालनमा छन् ।
नेपाल भारत जोड्ने लाली, जौलजिवी, दत्तु र हुतीमा रहेका पुलहरु खुला रहेका छन् ।
आवागन बन्द गर्न दुबैतिर माग
कोरोनाको संक्रमण कम गर्न नेपाल र भारत दुबैतर्फका नागरिकहरुले निश्चित समयका लागि नेपाल भारत जोड्ने पुल बन्द गर्नु पर्ने बताउन थालेका छन् ।
भारतमा कोरोनाको संक्रमण देखिएको र भारतसित निर्बाध आवागमन हुँदा कोरोनाको संक्रमण बढ्ने भन्दै नेपाल भारत जोड्ने सबै पुल बन्द गर्नु पर्ने स्थानीय मोहन बिस्ट बताउँछन् । ‘हामी कहाँ संक्रमण देखिएको छैन, भारतीयहरु निर्बाध नेपाल आउन पाएका छन्, उनीहरुबाट संक्रमण आउन सक्छ, यो जोखिमलाई हेरेर पुलहरु निश्चित समयसम्मका लागि बन्द गरिनु पर्दछ ।’ व्याँस गाउँपालिका स्थानीय बिस्टले भने ।
भारतमा जनता कफ्र्यु चलिरहेको अवस्थामा नेपालबाट मान्छे भारतीय बजार क्षेत्रमा पुगे कफ्र्युको कुनै मतलब नहुने बताउँदै धारचुलाका स्थानीय राकेश तिवारी पनि निश्चित समयका लागि पुल बन्द हुनु पर्ने बताउँछन् । हिन्दुस्तान दैनिकका स्थानीय सम्बाददाता समेत रहेको तिवारी कोरोनाको संक्रमण कम गर्न सरकारहरुले पुल बन्द नगरे पनि स्थानीयहरुले दबाव दिएर पुल बन्द गर्न लगाउनु पर्ने बताउँछन् ।
भारतबाट नेपाल आउने नेपालीहरुलाई असर नपर्ने गरी निर्बाध आवागमनमा राके लगाउने गरी पुलहरु बन्द गर्दा जोखिक कम हुने भएकाले यसतिर सरकारहरुले सोच्नु पर्ने बेला आएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउँछन् ।