नौगाडमा तरकारी कोरिडोर बनाइदै

0
2714

दार्चुला, पुष १८ गते ।
नौगाड गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई उच्च प्राथमिकता दिएर बजेट खर्च गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षदेखि नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डमुण्ड र दल्लेख तथा वडा नम्बर ५ को बसर गाउँलाई तरकारी उत्पादनको करिडोर बनाउने गरी कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।
व्यावसायिक तरकारी उत्पादनलाई उच्च प्राथमिकता दिएर कृषकहरुलाई सहयोग गरिन लागेको गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीले बताउनुभयो । ‘तरकारी उत्पादन र बजार दुबैको अत्यधिक सम्भावना भएकाले व्यावसायिक उत्पादनलाई प्रोेत्साहन गर्दैछौ’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
नौगाड गाउँपालिकामा सञ्चालित ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले वडा नम्बर २ को दल्लेख गाउँमा तरकारी उत्पादनको लागि पोलिहाउस निर्माण सुरु गरिसकेको परियोजनाका जिल्ला सल्लाहकार लवराज पन्तले बताउनुभयो । ‘दल्लेखको फुलमाया कृषक समूहमार्फत २२ कृषक परिवारलाई पोलिहाउस निर्माणमा परियोजनाले सहयोग गर्दैछ’ उहाँले भन्नुभयो । पोलिहाउस निर्माण, विउविजन र कृषक तालिममार्फत परियोजनाले सहयोग गरिरहेको पन्तले बताउनुभयो ।
दल्लेख गाउँका कृषकहरुले वेमौसममा समेत तरकारी खेती गर्न सक्ने अवस्था रहेको फुलमाया कृषक समूहका अध्यक्ष कलावती डोबालले बताउनुभयो । ‘उत्पादित तरकारी स्थानीय दल्लेख बजार र २१ किलोमिटर दूरीमा रहेको दार्चुला सदरमुकाम खलंगासम्म ढुवानी गरि विक्री गर्ने लक्ष्य राखिएको’ डोबालको भनाई छ ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार लवराज पन्त तरकारी उत्पादन बढाउने र उत्पादित तरकारीको बजार पहुँचका लागि समेत परियोजनाले सहयोग गर्ने बताउनुहुन्छ । ‘कृषकहरुलाई पूजीगत र वस्तुगत सहयोगका साथै प्राविधिक सीप पनि दिदैछौ, उत्पादित तरकारीको बजार सुनिश्चिता हुने गरी परियोजनाले सहयोग गर्छ’ उहाँले भन्नुभयो ।
परियोजनाअन्तर्गत २ जना प्राविधिक कर्मचारीहरुलाई फिल्डस्तरमै परिचालन गरी हरेक कृषकका खेतवारीसम्म खटाइएको परियोजनाका जलस्रोत अधिकृत हरिमलसिह ठगुन्नाले बताउनुभयो । परियोजनाले गाउँपालिकासंग सहकार्य गरी व्यावसायिक तरकारी उत्पादन र बजारिकरण गर्न खोजेको उहाँले बताउनुभयो ।
स्थानीय दल्लेख बजारदेखि सदरमुकाम खलंगासम्म कच्ची सडकको सुविधा छ । मोटरबाटोको सुविधा भएकोले उत्पादित तरकारी सदरमुकामसम्म विक्रीवितरण गर्न सकिने फुलमाया तरकारी समूहका सचिव निर्मला ठगुन्नाले बताउनुभयो । ‘दुई÷तीन महिनामै तरकारी उत्पादन सुरु गरी बजारमा पुर्याउछौ’ ठगुन्नाको भनाई छ ।
नौगाड गाउँपालिकाको वडा नम्बर २ दल्लेखमा धेरै वर्षदेखि सबैजसो कृषक परिवारले आलु उत्पादन गर्दैआएका छन् । नेपाल सरकारबाट चालु वर्षमा प्राप्त विशेष अनुदानको ६६ लाख ५० हजार रुपैयाँले आलुको चिस्यान भण्डार गृह निर्माणको गृहकार्य भइरहेको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्रसिह ठगुन्नाले बताउनुभयो । ‘आलु चिस्यान भण्डार गृह निर्माणको टेण्डर निकाल्ने तयारीमा छौ’ उहाँले भन्नुभयो । दल्लेख गाउँका साथै सुण्डमुण्ड र बसर गाउँका उत्पादित आलुलाई चिस्यान केन्द्रमा भण्डारण गरिने योजना छ ।
गाउँपालिकाले वडा नम्बर २ को सुण्डमुण्ड र वडा नम्बर ५ को बसर गाउँका कृषक परिवारलाई पनि व्यावसायिक तरकारी उत्पादनमा सघाउने तयारी गरेको छ । दल्लेखका कृषकहरुलाई ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा सहयोग गर्न सुरु गरिसकेको छ । सुण्डमुण्ड र बसरमा व्यावसायिक तरकारी खेती गर्ने कृषक परिवारको पहिचान गरिन लागेको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले बताउनुभयो । सुण्डमुण्ड, दल्लेख र बसर गरी तिनवटै गाउँमा एक सयभन्दा बढी कृषक परिवारमार्फत व्यावसायिक तरकारी खेती गरिने गाउँपालिकाको योजना छ ।
व्यावसायिक तरकारी खेती कार्यक्रमका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट प्राप्त ५० लाख रुपैयाँ खर्च गर्ने गाउँपालिकाको तयारी छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको निर्देशक समितिले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट नौगाड गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । ‘गाउँपालिकालाई प्राप्त ५० लाख बजेट पूरै व्यावसायिक तरकारी खेती उत्पादनमा लगाइने’ गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीले बताउनुभयो । व्यावसायिक तरकारी उत्पादनका लागि गाउँपालिकाले आवश्यकताअनुसार थप लगानी समेत गर्ने उहाँको भनाई छ ।
पुष दोस्रो साता ग्रामिण जलस्रोत परियोजनाका राष्ट्रिय परियोजना निर्देशक महेश्वर घिमिरेले प्रस्तावित तरकारी कोरिडोर क्षेत्रको भ्रमण गरेका छन् । व्यावसायिक तरकारी उत्पादनलाई प्रोत्साहन गर्न परियोजनाले प्राथमिकता दिएर काम गरिरहेको घिमिरेले बताउनुभयो । दार्चुला सदरमुकाममा भारतबाट दैनिक रुपमा आयात भइरहेको तरकारीलाई विस्थापित गर्ने उद्देश्यसहित तरकारी उत्पादनमा प्राथमिकता दिइएको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र सिंह ठगुन्नाले बताउनुभयो ।
तरकारी कोरिडोर बनाउन लागिएका दल्लेख, सुण्डमुण्ड र बसर तिनवटै वस्तीलाई सडक यातायातले छोएको छ । ‘उब्जाउ माटो, सिँचाईको सुविधा र व्यावसायिक कृषक परिवार भएकाले तरकारी कोरिडोरको अवधारणा सफल हुनेमा’ ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार लवराज पन्त ढुक्क देखिन्छन् ।