‘पदीय मर्यादाका कारण पिथौरागढको कार्यक्रममा गइन’

0
2091

दार्चुला, मंसिर ३० गते ।
इसिमोडले मंसिर २७ देखि २९ गतेसम्म भारतको पिथौरागढमा आयोजना गरेको अन्तरदेशीय अनुभव आदानप्रदान कार्यक्रममा पदीय मर्यादाका कारण आफु सहभागी नभएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीरवहादुर कार्कीले बताएका छन् ।
‘आयोजकहरुले निम्ता दिएका थिए तर विदेशमा आयोजित कार्यक्रम भएकाले मेरो सहभागिताका लागि नेपाल सरकारको सहमति चाहिन्छ’ जिसस प्रमुख कार्कीले भन्नुभयो । करिब एक सय किलोमिटरको दूरीमा आयोजित कार्यक्रममा पदीय मर्यादाकै कारण आफु सहभागी हुन नसकेको उहाँले बताउनुभयो ।
आफ्नो सहभागिता नहुने भएपछि जिसस उपप्रमुखलाई कार्यक्रममा सहभागी हुन आफुले आग्रह गरेको उहाँले बताउनुभयो । ‘उपप्रमुखजी पनि कार्यव्यस्तताले गाउँतिर हुनुहुन्छ, उहाँको पनि कार्यक्रममा सहभागिता भएनछ’ जिसस प्रमुख कार्कीले भन्नुभयो ।
इसिमोडका केही कर्मचारीले मंसिर १२ गते जिल्ला समन्वय समितिमा प्रमुखसहितका पदाधिकारीसंग छलफल गरेका थिए । आफुले गरिरहेका क्रियाकलापबारे इसिमोडका प्रतिनिधिहरुले जानकारी दिएको उहाँले बताउनुभयो । मंसिर २० गते खलंगाको एउटा होटलमा आयोजित कार्यक्रममा पनि इसिमोडले जिसस प्रमुखलाई आमन्त्रण गरेको थियो । तर कार्य व्यस्तताले उक्त कार्यक्रममा आफु सहभागी नभएको प्रमुख कार्कीको भनाई छ ।
इसिमोडको कार्यक्रममा महाकाली नगरपालिका प्रमुख तथा व्यास, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिका अध्यक्षहरुसहित एक दर्जन जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुई देशका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान कार्यक्रम भनिए पनि कार्यक्रममा भारततर्फका कुनै पनि जनप्रतिनिधिहरुको सहभागिता थिएन । पिथौरागढमा नगर निगम तथा धारचुला र डीडीहाटमा नगरपालिका तथा सयौं ग्राम पञ्चायतहरुको संरचना भए पनि भारतीय जनप्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थिएन । नेपालका जनप्रतिनिधिहरुलाई भने आयोजकले ठूलो महत्व देखाउदै आमन्त्रण गरेका थिए ।