पन्ध्र महिनादेखि विज्ञापन प्रक्रिया अलपत्र

0
2036

दार्चुला, माघ १० गते ।
दुहुँ गाउँपालिकाले १५ महिनादेखि सव इन्जिनियर र सहायक सव इन्जिनियर पदको विज्ञापन प्रक्रिया अघि बढाएको छैन । विभिन्न ७ प्रकारका पदमा १४ सिटका लागि विज्ञापन गरिएकोमा सव इन्जिनियर र सहायक सव इन्जिनियर बाहेकका ५ पदमा भने गतवर्ष नै कर्मचारी भर्ना गरिएका छन् ।
गाउँ कार्यपालिकाको कार्यालयले २०७५ असोज ८ गते करार सेवामा कर्मचारी भर्नाका लागि विज्ञापन खोलेको थियो । २०७५ भदौमा करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि निर्माण गरेको दुहुँ गाउपालिकाले लगत्तै विज्ञापन प्रकासित गरेको थियो ।
एउटै सुचनाबाट विज्ञापन प्रक्रिया सुरु गरिएका कृषि र पशुसेवा प्राविधिक, अनमी, अहेव र हेभी सवारीचालकको भर्ना प्रक्रिया भने केही महिनामै सम्पन्न गरिएको थियो । एउटै सुचनाबाट खोलिएको सव इन्जिनियरको एक पद र सहायक सव इन्जिनियरको ३ पदको विज्ञापन भने अहिलेसम्म अघि नबढेको उम्मेदवारहरुले बताएका छन् ।
‘आवेदन दस्तुर र परीक्षा दस्तुर तिरेर दरखास्त दिएको थिए तर अहिलेसम्म यसबारे केही जानकारी छैन’ सहायक सव इन्जिनियर पदका लागि आवेदन दिएका दुहुँ गाउँपालिका वडा नम्बर ४ पासुका सुरज कुवरले भन्नुभयो ।
गाउँपालिकाले निर्माण गरेको करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधिमा उम्मेदवारहरुको संक्षिप्त सुची प्रकासित गरी लिखित र अन्तर्वार्तामार्फत छनौट गरिने व्यवस्था छ । विज्ञापन खोलिएको सुचनामा पनि यसबारे उल्लेख गरिएको सहायक सव इन्जिनियर पदका अर्का उम्मेदवार दुहुँ गाउँपालिका वडा नम्बर ४ पासुका पूजा कुवँरले बताउनुभयो ।
गाउँ कार्यपालिकाको कार्यालयले सव इन्जिनियर र सहायक सव इन्जिनियर दुबै पदका लागि दरखास्त लिए पनि संक्षिप्त सुची प्रकासित नगरेको उम्मेदवारहरुको भनाई छ । ‘एउटै सुचनामा खोलिएका अन्य ५ विज्ञापनमा कर्मचारी भर्ना गरिए तर हामीहरुको विज्ञापनबारे कुनै जानकारीसम्म दिएको छैन’ सहायक सव इन्जिनियर पदका प्रत्यासी पूजा कुवँरले भन्नुभयो ।
गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा खटाउने गरी करार सेवामा सहायक सव इन्जिनियर पदमा विज्ञापन खोलिएको थियो । सव इन्जिनियर पद भने गाउँ कार्यपालिकाको कार्यालयका लागि खोलिएको सुचनामा उल्लेख छ ।
विज्ञापन प्रकासित भएलगत्तै नेपाल सरकारले एकजना स्थायी सव इन्जिनियर दुहुँ गाउँपालिकामा पठाएको प्राविधिक शाखामा कार्यरत अर्का सव इन्जिनियर दिलानन्द जोशीले बताउनुभयो । विज्ञापन खोलिएको सव इन्जिनियर पदमा स्थायी कर्मचारी आए पनि सहायक सव इन्जिनियरका लागि खोलिएका ३ पदमा भने अहिलेसम्म कुनै पनि कर्मचारी व्यवस्थापन गरिएका छैनन् ।
एउटै सुचनामार्फत खोलिएको विज्ञापनबाट कृषि प्राविधिक ४ जना, पशुसेवा प्राविधिक ३ जना, हेभी सवारीचालक १ जना, अनमी १ जना र अहेव १ जनालाई गतवर्ष नै नियुक्ति दिइएको छ ।
‘सव इन्जिनियर र सहायक सव इन्जिनियर पदको विज्ञापन प्रक्रिया अघि नबढनुको कारण आफुलाई थाहा नभएको’ प्रमुख प्रशासकीय अधिकृत महेशवहादुर बमले बताउनुभयो । आफुले २०७६ जेठदेखि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको र त्यसभन्दा अघिको विज्ञापन प्रक्रियाबारे आफु जानकार नभएको उहाँको भनाई छ ।
परीक्षा दस्तुर गाउँपालिकामै
विज्ञापन प्रक्रिया अलपत्र परेका आवेदकहरुबाट उठाइएको परीक्षा शुल्क दुहुँ गाउँपालिकाले अहिलेसम्म आफुसंगै राखेको छ । १५ महिनाअघि खोलिएको विज्ञापनअनुसार सव इन्जिनियर र सहायक सव इन्जिनियर पदको प्रक्रिया रद्द वा स्थगित के गरियो भन्ने जानकारी समेत नदिइएको आवेदक पूजा कुवँरले बताउनुभयो ।
विज्ञापन खोलिएका सबै पदमा प्रत्येक उम्मेदवारबाट १ हजार ५ सय रुपैयाँका दरले परीक्षा शुल्क उठाइएको थियो । ‘परीक्षा शुल्क हामीहरुले फिर्ता पाएका छैनौ’ सहायक सव इन्जिनियर पदका आवेदक सुरज कुवरले भन्नुभयो । आवेदन फारमवाफत उम्मेदवारहरुले एक सय रुपैयाँ छुट्टै तिरेका थिए ।
सहायक सव इन्जिनियरको ३ पदका लागि ५ जनाले दरखास्त दिएको दुहुँ गाउँपालिका वडा नम्बर ४ पासुका पूजा कुँवरले बताउनुभयो । ‘गाउँपालिकाले विज्ञापन स्थगित वा रद्द भएकोबारे कुनै जानकारी दिएको छैन, परीक्षा दस्तुर पनि फिर्ता दिएको छैन’ उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत महेशवहादुर बम आवेदकहरुले लिखित रुपमा परीक्षा दस्तुर फिर्ता मागेमा उपलब्ध गराइने बताउनुहुन्छ । ‘आवेदकहरुले लिखित रुपमा परीक्षा दस्तुर फिर्ता माग गरेमा गाउँपालिकाले फिर्ता गर्छ’ उहाँले भन्नुभयो ।
‘आवेदक फरक पार्टीका हुँदा प्रक्रिया अलपत्र’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य नरेन्द्रसिह बडालले दुहुँ गाउँपालिकाले सहायक सव इन्जिनियर पदका अधिकांश उम्मेदवार फरक पार्टी समर्थक भएकाले विज्ञापन प्रक्रियानै अपलत्र पारिएको बताएका छन् ।
राजनीतिक पूर्वाग्रहले कर्मचारी भर्ना नै अलपत्र पारिएको छ’ उहाँले भन्नुभयो, ‘एउटै सुचनामा विज्ञापन गरिएका ५ प्रकारका पदहरुमा कर्मचारी भर्ना गरिनु तर सहायक सव इन्जिनियर पदको विज्ञापन अलपत्र पार्नु आश्चर्य छ ।’
सहायक सव इन्जिनियर पदमा ३ सिटका लागि विज्ञापन गरिएको थियो । दुहुँ गाउँपालिकाका ५ जना स्थानीयले सहायक सव इन्जिनियर पदमा आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४ जना नेकपाका शुभचिन्तक रहेको नेकपा जिल्ला सदस्य नरेन्द्रसिह बडालको भनाई छ ।
‘आवेदन दिएकाहरु पार्टी कार्यकर्ता होइनन्, शुभचिन्तक मात्र हुन् तर राजनीतिक पूर्वाग्रहले विज्ञापन प्रक्रिया नै अलपत्र पारिएको छ’ बडालको आरोप छ ।