पिथौरागढका आधा दर्जन जलविद्युत परियोजना बन्द

0
2163

दुइटाबाट ३० प्रतिशत मात्र उत्पादन
दार्चुला, पुष २२ गते ।
बसाइसराई (पलायन)को प्रमुख समस्या झेलिरहेको उत्तराखण्डले पानीको उपयोग पनि प्रभावकारी रुपमा गर्न नसकेको भारतीय पत्रिका दैनिक जागरणले खवर लेखेको छ ।
उत्तराखण्डमा सबैभन्दा बढी लघु जलविद्युत आयोजना रहेको पिथौरागढ जिल्लामा हाल दुइटा मात्रै परियोजना सञ्चालनमा छन् । सञ्चालित परियोजनाबाट क्षमताको ३० प्रतिशत मात्रै विद्युत उत्पादन भइरहेको छ । बाँकी आधा दर्जन जलविद्युत आयोजना बन्द छन् ।
जलविद्युतको बढी सम्भावना रहेको पिथौरागढ जिल्लामा सन् २०१५ सम्म ८ वटा लघु जलविद्युत परियोजना निर्माण गरिएका थिए । लघु जलविद्युत निगमले निर्माण गरेका सबै योजना चार वर्षअघि वैकल्पिक ऊर्जाको काम गर्ने सरकारी निकाय ‘उरेडा’को जिम्मा दिइएको थियो । तर उरेडाले लघु जलविद्युत परियोजनाहरुको नियमित सञ्चालन गर्न नसकेको दैनिक जागरण पत्रिकाले समाचार लेखेको छ ।
आधा दर्जन परियोजनाहरु बन्द भएपछि राज्य सरकारलाई मासिक लाखौं रुपैयाँ घाटा भइरहेको छ । लघु जलविद्युत निर्माणपछि स्थानीय गाउँहरुमा विद्युत सेवा दिइनुका साथै राष्ट्रिय प्रशारणमा पनि जोडिएको थियो । तर हाल लघुजलविद्युत परियोजनाहरु बन्द छन् भने ग्रामिण भेगमा राष्ट्रिय प्रशारण लाइनबाट विद्युत सेवा पुगिरहेको छ ।
पिथौरागढमा रहेका लघु जलविद्युत परियोजनाहरुमध्ये ५ मेगावाटको सुरिंगगाड लघु जलविद्युत परियोजनाको पुननिर्माण भइरहेको छ । ४ सय किलोवाट क्षमताको छडनदेव परियोजना र ६ सय किलोवाटको तालेश्वर लघु जलविद्युत परियोजना मात्रै सञ्चालनमा छन् । यी दुबै परियोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुन नसकेको पत्रिकाको समाचारमा उल्लेख छ ।
विगतमा निर्माण भइ हाल विद्युत उत्पादन बन्द भएका योजनाहरुमा ७ सय ५० किलोवाटको बरार लघु जलविद्युत परियोजना, २ सय किलोवाटको गराऊँ लघु जलविद्युत परियोजना र १ हजार २ सय किलोवाटको कालागाड लघु जलविद्युत परियोजना छन् । १ हजार ५ सय किलोवाटको छिरकिला लघु जलविद्युत परियोजना, २ किलोवाटको रेलागाड लघु जलविद्युत परियोजना पनि बन्द छन् ।
पिथौरागढका लघु जलविद्युत परियोजनाहरु मर्मत गर्नु आवश्यक रहको उरेडाका जिल्ला परियोजना अधिकारी एके शर्माले बताउनुभयो । परियोजना मर्मत सम्बन्धि प्रस्ताव उत्तराखण्ड सरकारमा पठाइसकेको र प्रस्ताव स्वीकृत भएपछि मर्मत गरी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।