पिथौरागढका ५ स्थानीय निकायमा मतदान हुँदै

0
2305

दार्चुला, मंसिर २ गते ।
नेपालको सीमावर्ती क्षेत्र भारतको पिथौरागढ जिल्लाका ५ स्थानीय निकायमा आज मतदान भइरहेको छ । आइतवार विहान ८ बजेदेखि सुरु भएको मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।
नगरस्तरीय स्थानीय निकायहरुको जनप्रतिनिधि चुन्नका लागि मतदान भएको छ । पिथौरागढ जिल्लाअन्तर्गत ३ वटा नगरपालिका र २ वटा नगर पञ्चायतमा आइतवार मतदान भइरहेको भारतीय प्रशासनले जनाएको छ ।
पिथौरागढ, डीडीहाट र धारचुला नगरपालिका तथा गंगोलीहाट र बेरिनाग नगर पञ्चायतमा निर्वाचन भइरहेको छ । पाँचवटै स्थानीय निकायमा गरी आइतवारको मतदानका लागि ४९ हजार २ सय ७८ मतदाता रहेको उत्तराखण्ड निर्वाचन आयोगले जनाएको छ । पुरुषभन्दा १ हजार ६ सय २६ महिला मतदाता बढी छन् ।
पाँचवटै स्थानीय निकायमा अध्यक्षका लागि २७ जना उम्मेदवार रहेका छन् । ४८ वडा सदस्यका लागि १ सय ४८ जनाको उम्मेदवारी परेको छ । पिथौरागढ जिल्लाका ५ वटै स्थानीय निकायमा ६९ मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रमध्ये ११ वटा अतिसंवेदनशील र १९ वटा संवेदनशील रहेका छन् ।
उत्तराखण्ड प्रहरीले निर्वाचनका लागि ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । ३ जना अधिकृतस्तरका प्रहरी अधिकारी, ३० जना उपनिरीक्षक, ४० जना हवल्दार र ३ सय प्रहरी जवान निर्वाचनमा खटाइएको पिथौरागढका एसपी आरसी राजगुरुले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनका लागि १ सय ६० होमगार्ड समेत परिचालन गरिएका छन् ।
निर्वाचन प्रयोजनका लागि ३ सय ४५ कर्मचारी तोकिएका छन् । पिथौरागढ जिल्लाका डिएम सी रविशंकरले जिल्ला निर्वाचन अधिकारीको भूमिका समेत निर्वाह गरिरहेका छन् । उत्तराखण्ड राज्यभरी ८४ वटा स्थानीय निकायमा आइतवार मतदान भइरहेको छ । रुडकी, बाजपुर र श्रीनगर नगरपालिकामा भने निर्वाचन स्थगित गरिएको छ ।
उत्तराखण्ड राज्यभरीमा स्थानीय निकाय निर्वाचनका लागि २३ लाख ५३ हजार ९ सय २३ मतदाता रहेका छन् । यीमध्ये महिला ११ लाख ३३ हजार र पुरुष १२ लाख २० हजार रहेका छन् । ८४ स्थानीय निकाय र १ हजार ६४ वार्डका लागि ४ हजार ९ सय ७८ जना उम्मेदवार बनेका छन् ।
आइतवारको निर्वाचनमा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावत, योगगुरु रामदेव, आचार्य वालकृष्ण, राज्य निर्वाचन आयुक्त चन्द्रशेखर भट्टलगायतले मतदान गरेका छन् ।
आइतवारको निर्वाचनका लागि शुक्रवार बेलुकीदेखि मौनअवधि सुरु भएको थियो । निर्वाचनका लागि नेपालसंग सीमा जोडिएका नाकाहरु समेत बन्द गरिएका छन् । पिथौरागढको धारचुलासंग जोडिएको नाका बन्द भएको छ ।
मतदान दुई दिनपछि अर्थात मंगलवार मतगणना हुने उत्तराखण्ड राज्य निर्वाचन आयोगले जनाएको छ ।