पिथौरागढको हवाइसेवा सञ्चालनमा चार भवन बाधक

0
2403

दार्चुला, मंसिर १८ गते ।
भारतको उत्तराखण्ड राज्यको सीमावर्ती जिल्ला पिथौरागढ शहरमा नियमित हवाइसेवा सञ्चालनका लागि हवाइमैदान छेउका चारवटा भवन बाधक बनेका छन् । नैनीसैनी हवाइमैदानको छेउमा रहेको चार भवनका कारण पिथौरागढसम्म हवाइसेवा सञ्चालन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
हवाइमैदान नजिकका भवनहरुबारे यसअघि प्राविधिक अध्ययन भइसकेको छ । भवनहरुको अवरोधका कारण भारतको केन्द्रीय नागरिक उड्डयन विभागले हवाइसेवा सञ्चालनको स्वीकृति दिएको छैन । फेरि एकपटक भवनहरुको प्राविधिक अध्ययन गरी व्यवस्थापन गरिने स्थानीय प्रशासनले जनाएको छ ।
एक महिनाअघि नै देहरादूनदेखि पिथौरागढसम्मको हवाइसेवाको उद्घाटन गरिएको थियो । अक्टुबर ८ मा परीक्षण उडान गरिएको पिथौरागढको हवाइमैदानमा अक्टुवर ९ मा पनि जहाज अवतरण गरिएको थियो । केन्द्रीय कपडा राज्यमन्त्री अजय टमटा, भाजपा प्रदेश अध्यक्ष अजय भट्ट र पूर्व मुख्यमन्त्री भगतसिह कोश्यारी अक्टुवर ९ मा देहरादूनबाट पिथौरागढ आएका थिए । नियमित हवाइसेवाको प्रतिक्षा एक महिना पुग्न लागेको छ । हवाइमैदान नजिकका भवनबारे फेरि प्राविधिक सर्भे हुने भएपछि अझै पिथौरागढको हवाइसेवामा ढिलाइ हुने अनुमान गरिएको छ ।
नीजिक्षेत्रको विमान कम्पनी हेरिटेड एभिएसनलाई पन्तनगर र देहरादूनदेखि पिथौरागढसम्मको हवाइसेवा सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको छ । यद्यपि नागरिक उड्डयन विभागबाट नियमित उडानको स्वीकृति प्राप्त नहुदा स्थानीयस्तरमा असन्तुष्टि र आक्रोस छ ।
सोमबार मात्रै उत्तराखण्डका मुख्यमन्त्री भगतसिह कोश्यारी र प्रदेश सरकारका मन्त्री धनसिह रावतले हवाइमैदानको स्थलगत भ्रमण गरेका छन् । पिथौरागढका डिएम सि रविशंकरले हवाइसेवा सञ्चालनमा भइरहेको ढिलाइ र स्थलगत अवस्थाबारे जानकारी गराएका छन् ।
हवाइसेवा सञ्चालनका लागि पिथौरागढ पुगेको एयर ट्राफिक कन्ट्रोल टीम र फायर सर्भिसको टोली पिथौरागढबाट फर्किएको छ । प्राविधिक कारणले पिथौरागढको हवाइसेवा सञ्चालनमा ढिलाइ हुने भएपछि एयर ट्राफिक कन्ट्रोल र फायर सर्भिस टीम फिर्ता भएको हो ।
हवाइमैदान छेउका चारवटै भवनका मालिकसंग भवन हटाउनेबारे स्थानीय प्रशासनले छलफल गरिरहेको डिएम सि रविशंकरले पूर्व मुख्यमन्त्री कोश्यारीलाई जानकारी गराउनुभएको छ ।