पिथौरागढमा ७६ प्रतिशत बजेट खर्च

0
1940

राज्य र केन्द्रको बजेट खर्च ५० प्रतिशत
दार्चुला, माघ १५ गते ।
आर्थिक वर्ष सकिन दुइ महिना बाँकी रहदा भारतको पिथौरागढ जिल्लामा जिल्ला योजनाको बजेट खर्च ७६ प्रतिशत पुगेको छ । राज्य योजना र केन्द्र सरकारका योजनामा आधा बजेट मात्रै खर्च भएको छ ।
उत्तराखण्ड सरकारका प्रभारी मन्त्री अरविन्द पाण्डेयले शनिवार बजेट खर्चबारे जिल्लास्तरीय अधिकारीहरुसंग समीक्षा बैठक गरेका छन् । लोक निर्माण विभाग डीडीहाट, अस्कोट र बेरिनाग इकाइले बजेट खर्च कम गरेकोमा मन्त्री पाण्डेयले असन्तुष्टि जनाएका छन् ।
पिथौरागढका मुख्य विकास अधिकारी वन्दना सिंहले जिल्ला योजनाका लागि यो वर्ष विनियोजन गरेको ४३ करोड ४३ लाख रुपैयाँमध्ये हालसम्म ३३ करोड २४ लाख खर्च भइसकेको बताउनुभयो । कुल बजेटको २४ प्रतिशत मात्रै बजेट खर्च गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
उत्तराखण्ड राज्य योजनाअन्तर्गत पिथौरागढमा प्राप्त ३ अर्ब ७८ करोड बजेटमध्ये हालसम्म १ अर्ब ६१ करोड खर्च भएको मुख्य विकास अधिकारी वन्दनाले बैठकमा जानकारी दिनुभयो । यसैगरी, केन्द्र सरकारको सहयोगमा निर्माणाधिन योजनाहरुमा ३ अर्ब १४ करोड भारतीय रुपैयाँ बजेट रहेकोमा १ अर्ब ४६ करोड खर्च भएको जानकारी दिइएको छ ।
उत्तराखण्ड सरकारमा पिथौरागढ जिल्लाको क्षेत्र हेर्ने जिम्मेवारी पाएका मन्त्री पाण्डेयले मार्च ३१ सम्म सतप्रतिशत बजेट खर्च अधिकारीहरुलाई निर्देशन दिएका छन् । निर्धारित योजनाहरुमा बजेट खर्च गर्नमा कुनै ढिलाइ र लापरवाही नगर्न उहाँले आग्रह गर्नुभयो । अधिकारीहरुलाई गाउँवस्तीसम्म पुगेर प्रभावकारी रुपमा योजना कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
सडक निर्माणलाई विकासको मेरुदण्ड बताउदै मन्त्री पाण्डेयले उच्च प्राथमिकता र मिहिनेत गरी सडक निर्माण गर्न आग्रह गर्नुभयो । बजेट सम्बन्धि समीक्षा बैठकमा पिथौरागढका निर्वाचित विधायक चन्द्रा पन्त, डीडीहाट क्षेत्रका विधायक विशनसिह चुफाल, गंगोलीहाट क्षेत्रका विधायक मीना गंगोला, जिल्ला पञ्चायत अध्यक्ष दीपिका बोहराको पनि सहभागिता थियो ।