पिथौरागढमा ७ हजार मतदाता घटे

2047

दार्चुला, माघ १८ गते ।
भारतको पिथौरागढ जिल्लामा ७ हजार ७० मतदाता घटेका छन् । एक वर्षको अवधिमा मतदाता संख्या घटेको हो । मतदाताहरुको प्रमाणिकरण गर्ने क्रममा संख्या घटेको हो ।
मतदाताको प्रमाणिकरण गर्नेक्रममा आफ्नो ठेगानामा नभेटिएका मतदातालाई नामावलीबाट हटाइएको छ । यसअघि ३ लाख ७१ हजार १ सय ६० मतदाता संख्या रहेकोमा प्रमाणिकरणपछि ३ लाख ६४ हजार ९० मतदाता रहेका छन् ।
निर्वाचन आयोगले मतदाताको प्रमाणिकरण अभियान सञ्चालन गरेको थियो । पिथौरागढका चारवटै विधानसभा क्षेत्रमा केही वर्षदेखि मतदाता संख्या बढिरहेको थियो । तर यसपटक आफ्नो ठेगानामा नभेटिएका मतदाताहरुको नामावली हटाइएको हो ।
शिक्षा र रोजगारीका कारण घरबाहिर रहेका व्यक्तिको नामावली पनि छुटेको निर्वाचन आयोगले जनाएको छ । सन् २०१९ मा भारतको लोकसभा निर्वाचन भएको थियो ।
धारचुला विधानसभामा १३ सय कम
धारचुला विधानसभा क्षेत्रमा १ हजार ३ सय ७९ मतदाता घटेका छन् । गतवर्ष ८५ हजार ८२ मतदाता संख्या रहेकोमा प्रमाणिकरणपछि ८३ हजार ७ सय ३ मतदाता संख्या कायम भएको छ ।
धारचुला विधानसभा क्षेत्रमा धारचुला र मुनस्यारी तहसिल पर्दछन् । विधानसभा क्षेत्रमध्ये पिथौरागढमा २ हजार २ सय ४, डीडीहाटमा २ हजार ३ र गंगोलीहाटमा १ हजार ४ सय ८४ मतदाता घटेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !