पिथौरागढ बेस अस्पताल निर्माणको निरीक्षण

0
2087

दार्चुला, पुष १९ गते ।
भारतको पिथौरागढ जिल्ला सदरमुकाममा निर्माणाधिन बेस अस्पतालको विहिवार निरीक्षण गरिएको छ । धेरै वर्षदेखि चर्चा रहेको बेस अस्पताल गतवर्षदेखि मात्रै निर्माण सुरु गरिएको हो ।
बेस अस्पतालको निर्माण कार्यमा ढिलाइ भइरहेको गुनासो आएपछि पिथौरागढ निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक चन्द्रा पन्त र पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले निरीक्षण गर्नुभएको हो । दुबैजनाले निर्माणमा संलग्न कम्पनीलाई अस्पताल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।
स्थलगत निरीक्षणको क्रममा निर्माण कार्यमा संलग्न कम्पनीले विधायक र डिएमलाई हालसम्मको प्रगति अवस्थाबारे जानकारी गराएको दैनिक जागरण पत्रिकाले जनाएको छ । बेस अस्पतालको इमरजेन्सी–ओपिडी भवनको ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिइएको छ । यसैगरी, अस्पताल प्रशासनिक भवनमा ७५ प्रतिशत, आइबिडी भवनमा ५० प्रतिशत प्रगति रहेको छ ।
बेस अस्पताल निर्माण परिसरमा विद्युतिकरणको कार्यमा ढिलाई हुँदा अन्य निर्माण कार्य प्रभावित भएको कम्पनीले जनाएको छ । २०२० मार्चभित्र ओपिडी भवन निर्माण सम्पन्न गरिने प्रतिवद्धता कम्पनीले गरेको छ । अन्य संरचना निर्माणमा भने केही थप समय लाग्ने बताइएको छ ।
अस्पताल परिसरमा विद्युतिकरण, लिफ्ट र सेवा भवनका लागि नयाँ टेण्डरको प्रक्रिया सुरु गरिने मुख्य चिकित्साधिकारी उषा गुन्ज्यालले बताउनुभयो । पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले ओपिडी र प्रशासनिक भवन जोड्ने मार्ग तयार गर्न निर्देशन दिनुभएको छ ।
पिथौरागढ बेस अस्पताल निर्माणका लागि स्वीकृत ६३ करोड बजेटमध्ये हालसम्म ३४ करोड भारु खर्च भइसकेको मुख्य चिकित्साधिकारी उषा गुंज्यालले बताउनुभयो । स्थलगत निरीक्षणमा पिथौरागढका एसडिएम तुषार सैनी, भाजपा जिल्ला अध्यक्ष वीरेन्द्र वल्दियालगायतको सहभागिता थियो ।