पिथौरागढ हवाइमैदानको निरीक्षणमा प्राविधिक टोली

0
2592

दार्चुला, मंसिर ८ गते ।
एयरपोर्ट अथोरिटी अफ इंडियाको प्राविधिक टोलीले पिथौरागढको नैनीसैनी हवाइमैदानको स्थलगत निरीक्षण गरेको छ । लामो प्रतिक्षापछि समेत नियमित हवाइसेवा सञ्चालन हुन नसकेको पिथौरागढको हवाइमैदानमा प्राविधिक टोलीले निरीक्षण गरेको हो ।
हवाइमैदान नजिक रहेका भवनहरुको निरीक्षण गरी प्राविधिक टोलीले अध्ययन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । असोज पहिलो हप्ता भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नैनीसैनी हवाइमैदानमा नियमित हवाइसेवा सञ्चालनको उद्घाटन गरेका गिए । तर एयरपोर्ट नजिकका केही भवनहरुले प्राविधिक समस्या भएपछि नियमित उडान हुन सकेको छैन ।
उत्तराखण्डको अस्थायी राजधानी देहरादूनबाट पिथौरागढको नैनीसैनी हवाइमैदानसम्म दैनिक ९ सिट क्षमताको विमानसेवा सञ्चालनको उद्घाटन गरिएको थियो । तर भारतको नागरिक उड्डयन विभागले हवाइमैदान नजिकका भवनका कारण स्वीकृति नदिदा नियमित उडान हुन सकेको छैन ।
मंसिर ६ थते एयरपोर्ट अथरिटी अफ इंडियाको चार सदस्यीय प्राविधिक टीमले हवाइमैदानको स्थलगत अनुगमन गरेको छ । हवाइमैदान नजिकका ३ भवन र एउटा स्कुल भवनले हवाइमैदान सञ्चालनमा कठिनाइ भएको जनाइएको छ । भवनहरुको केही हिस्सा भत्काएपछि मात्रै हवाइसेवा सुचारु गरिने स्थानीय प्रशासनको भनाई छ ।
पच्चिस वर्षअघि सन् १९९३ मा नैनीसैनी हवाइमैदान निर्माण गरिएको थियो । लामो समयदेखि हवाइमैदान सञ्चालन आउन सकेको छैन । त्रिदेशीय सीमाक्षेत्रमा रहेको हवाइमैदान नियमित सञ्चालनका लागि राजनीतिक, प्रशासनिक र नागरिकस्तरबाट केही वर्षदेखि लगातार प्रयास हुँदैआएको छ ।
पिथौरागढको नैनीसैनी हवाइमैदानको सन् १९९३ मै तत्कालिन नागरिक उड्डयन मन्त्री गुलाम नबी आजाद र उत्तर प्रदेशका मुख्यमन्त्री मुलायमसिह यादवले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय काग्रेस नेतृत्वको उत्तराखण्ड राज्य सरकारले हवाइमैदान विस्तारका लागि बजेट विनियोजन गरेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।
हवाइमैदानको विस्तारपछि देहरादून र पन्तनगरसम्म पिथौरागढदेखि नियमित हवाइ उडान गर्ने योजना छ ।