पिथौरागढ हवाइमैदानको सुरक्षा जिम्मा उत्तराखण्ड प्रहरीलाई

2514

पिथौरागढको नैनीसैनी हवाइमैदान सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेका बेला हवाइमैदानको सुरक्षा उत्तराखण्ड प्रहरीले गर्ने भएको छ । हवाइमैदान सुरक्षाका लागि ८१ प्रहरी कर्मचारीलाई छनौट गरी तालिम दिन सुरु गरिएको छ ।
पिथौरागढको हवाइमैदानमा अक्टोवर महिनाभित्रै हवाइसेवा सञ्चालन गर्ने तयारी छ । भारतीय विमान प्राधिकरणको टोलीले हवाइमैदानको अन्तिम निरीक्षण गरेपछि हवाइसेवा सञ्चालन हुने भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
उत्तराखण्ड प्रहरीले हवाइमैदान सुरक्षाका लागि प्रहरी जनशक्ति तयार गर्न लागेको छ । पाँच दिनसम्म हवाइमैदानको सुरक्षाबारे तालिम दिन लागिएको पिथौरागढ प्रहरी प्रमुख एसपी आरसी राजगुरुले बताउनुभयो । नैनीसैनी हवाइमैदानमा तीन तहको प्रहरी सुरक्षा घेरा राखिने भएको छ । हवाइमैदानको प्रवेशद्वार, मध्यको क्षेत्र र बाहिरिने द्वारमा प्रहरी टोली राखिनेछ ।
पिथौरागढ एयरपोर्टमा टेलिफोन लाइन विस्तार गरिने
पिथौरागढको नैनीसैनी हवाइमैदान सञ्चालन आउने भएपछि सञ्चार सुविधाका लागि टेलिफोन लाइन विस्तार गरिने भएको छ । हवाइमैदान रहेको क्षेत्रमा मोबाइल सेवाको कभरेज भए पनि तारसहितको आधारभूत टेलिफोन सेवा विस्तार गरिने भएको हो ।
एयरपोर्ट अथोरिटी अफ इन्डियाको नागरिक उड्डयन सुरक्षा ब्युरोको टोलीले टेलिफोनको सुविधा पुर्याउन आग्रह गरेको छ । सुरक्षाका दृष्टिकोणले पनि टेलिफोन सेवाको भरपर्दो व्यवस्थापन गर्न भनिएको छ ।
ब्युरोको टोलीले हवाइमैदानको तयारीप्रति सन्तोष जनाएको छ । हवाइमैदानको रनवे नजिक रहेका ससाना ढुंगा र सामग्री हटाउन पनि भनिएको छ । पिथौरागढका डिएम सी रविशंकरले ब्युरोको टोलीलाई हवाइमैदानको अवस्थाबारे जानकारी गराएका छन् ।
एसी टर्मिनल भवन, टावर, रनवे आदि क्षेत्रको अधिकारीहरुले शुक्रवार स्थलगत निरीक्षण गरेको भारतीय पत्रिका हिन्दुस्तानले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !