पैसाको लोभमा हत्या गरेको खुलासा

0
3007

दार्चुला, भदौ १६ गते ।
मार्मा गाँउपालिकाको वडा नम्बर १ गुल्जरको घोल्जरमा पैसाको लोभमा स्थानीय स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिह ठगुन्नाको हत्या भएको खुलासा भएको छ । प्रहरीको ‘प्रारम्भिक अनुसन्धानले पैसाको लोभमा ठगुन्नाको हत्या गरिएको तथ्य खुलेको’ स्रोतको भनाई छ ।
धनगढीमा जमिन किन्ने तयारीमा रहेको ठगुन्नालाई भदौ ३ गते राती आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । दार्चुला प्रहरीले घटनाको गहिरो रुपमा अनुसन्धान भइरहेको जनाएको छ । ‘प्रहरीको हालसम्मको अनुसन्धानबाट पैसाको लोभले स्थानीय धरमसिह धामीले हत्या गरेको तथ्य खुलेको’ स्रोतले बतायो ।
दार्चुला प्रहरीले भने घटनाबारे विवरण सार्वजनिक गरेको छैन । ‘हामी अनुसन्धानको क्रममै छौ, अनुसन्धान प्रक्रिया पूरा भएपछि पूरा विवरण सार्वजनिक गर्छौ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हिक्मतवहादुर बोहराले भन्नुभयो ।
घटनाको अनुसन्धान गर्न प्रहरीले भदौ ८ गते गुल्जरका स्थानीय धरमसिह धामीलगायत चारजनालाई समातेको छ । समातिएका मध्ये एकजना महिला रहेकोमा उनलाई तारेखमा छोडिएको प्रहरी स्रोतले बतायो ।
बाँकी तीनजनालाई भने भदौ ११ गते जिल्ला अदालतबाट पेश गरी अनुसन्धान म्याद लिइएको छ । घटना लगत्तै दार्चुला प्रहरीले इलाका प्रहरी कार्यालय लटिनाथ र गोकुलेश्वरका साथै जिल्ला प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली घटनास्थलमा परिचालन गरेको थियो । प्रहरीको अनुसन्धान निस्कर्षमा पुग्न लागेको स्रोतको भनाई छ । जिल्ला अदालतले प्रहरीलाई भदौ १८ गतेसम्म १० दिनको अनुसन्धान म्याद दिएको श्रेस्तेदार शेरवहादुर विष्टले बताउनुभयो ।
प्रहरी अनुसन्धानमा ‘घटनाका मुख्य पात्र धरमसिह धामी रहेको निस्कर्ष निकालिएको’ प्रहरी स्रोतले बतायो । धामीसंगै पक्राउ परेका अन्य दुई जनाको भूमिकाबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीको हिरासतमा रहेका धरमसिह धामीले प्रहरीसंगको बयानमा ‘अंगिरको हत्या आफुले गरेको स्वीकारेका छन्’ जिप्रका स्रोतले भन्यो । स्रोतका अनुसार ‘आफुलाई पैसाको आवश्यकता भएकाले अंगिरको हत्या गरेको’ धरमको भनाई छ ।
स्रोतका अनुसार धरमले केही दिन अगाडि खण्डेश्वरीका एकजना व्यापारीबाट ६ लाख रुपैयाँ उधारोमा बाख्रा किनेर ल्याएका थिए । उक्त पैसा तिर्न समस्या परेपछि अंगिरको हत्या गर्ने योजना धरमले बताएका थिए । प्रहरी अनुसन्धानका क्रममा धरमले खण्डेश्वरीका ती व्यापारीलाई ७२ हजार रुपैयाँ तिरेको तथ्य फेला परेको स्रोतको भनाई छ । हत्या गरिएका अंगिरको गोजीमा उक्त रकम भेटिएको र घरको अर्को कोठामा छुट्टै साढे ९ लाख रुपैयाँ अनुसन्धानको क्रममा भेटिएको छ । अंगिरको गोजिमा भेटिएका ७२ हजार रुपैयाँ धरमले साथमै लगे पनि साढे ९ लाख रुपैयाँ घरभित्रको अर्को कोठामा रहेकाले फेला पारेका थिएनन् ।
दार्चुला प्रहरीले घटनालाई गम्भीर र गहन रुपमा अनुसन्धान भइरहेको जनाएको छ । ‘हामी अनुसन्धानको क्रममा भएकाले अहिले नै तथ्यहरु सार्वजनिक गर्न सकिदैन’ दार्चुला प्रहरी प्रवक्ता हिक्मतवहादुर बोहराले भन्नुभयो ।