प्रदेशका ८ कार्यक्रममा ७५ करोड विशेष अनुदान

0
2141

दार्चुला, पुष ३ गते ।
नेपाल सरकारले चालु वर्षमा सुदूरपश्चिम प्रदेशका ८ वटा योजना तथा कार्यक्रममा ७५ करोड रुपैयाँ विशेष अनुदान दिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको विवरणअनुसार शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विशेष अनुदानको रकम दिइएको छ ।
प्रदेश सरकारले प्रस्तावअनुसार संघीय सरकारबाट विशेष अनुदानको टुंगो लगाइएको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा ३÷३ वटा र खानेपानीका २ वटा योजना विशेष अनुदानको बजेटबाट कार्यान्वयन गरिने भएका छन् ।
प्रदेशका नौवटै जिल्लामा कार्यान्वयन गरिने शिक्षा विकास कार्यक्रम ५ करोड विशेष अनुदान छ । प्रदेश सरकारले यसका लागि नेपालसंग ४० करोड ९० लाख अनुदान माग गरेको थियो । वाल तथा मातृ स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमका लागि १ अर्ब अनुदान मागिएकोमा नेपाल सरकारले २० करोड बजेट दिएको छ । यो कार्यक्रम पनि प्रदेशभरीका सबै जिल्लामा लागू हुने प्रदेशसभा सदस्य मानवहादुर धामी ‘सन्तोष’ले बताउनुभयो ।
बाँकी ६ वटामध्ये कैलाली र कञ्चनपुरमा २÷२ वटा तथा बैतडी र डोटीमा १÷१ वटा योजना तथा कार्यक्रम कार्यान्वयन हुनेभएका छन् । प्रदेश सरकारले ८ वटै योजना तथा कार्यक्रमका लागि २ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ विशेष अनुदान मागेकोमा संघीय सरकारबाट ७५ करोड बजेट प्राप्त भएको छ । सातवटै प्रदेशबाट २२ अर्ब ५५ करोड ९३ लाख बजेट माग गरिएको छ । नेपाल सरकारले भने प्रदेश सरकारहरुलाई ४ अर्ब ६० करोड २ लाख विशेष अनुदान बाँडफाँड गरेको छ ।