प्रदेशको बैठकपछि जिल्ला र स्थानीय तह कमिटीको पूर्णता

0
2380

दार्चुला, मंसिर १४ गते ।
नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकपछि जिल्ला कमिटी र स्थानीय तह कमिटीको टुंगो लाग्ने भएको छ । नेकपाको सचिवालयले हालै मात्र प्रदेश कमिटीको टुंगो लगाएको छ । प्रदेश कमिटीको सचिवालय र कार्यालय टीमको टुंगो लागिसकेपछि जिल्ला र स्थानीय तहस्तरमा पार्टी एकीकरणको कार्य अघि बढ्ने नेताहरुले बताएका छन् ।
प्रदेश कमिटीका पदाधिकारीहरुले यसअघि जिल्ला कमिटी एकीकरणको गृहकार्य गरिसकेका छन् । तर प्रदेश कमिटीको पूर्णता नभएकाले हालसम्म जिल्लाको संरचना घोषणा भइसकेको छैन । यद्यपि प्रदेश कमिटीका पदाधिकारी र कार्यदलले जिल्लाको नेतृत्व टुंगो लगाइसकेका छन् । दार्चुलामा एकीकृत पार्टीको नेतृत्व गणेशसिह खत्रीले गर्नेभएका छन् । एमालेबाट उदयसिह बडालले नेकपा सचिवको जिम्मेवारी पाउने निश्चित छ । नेतृत्व चयनको सुरुवातीमा केही असन्तुष्टि देखिए पनि पछिल्लो समय सबै नेता कार्यकर्ताबीच समझदारी देखिएको एक नेताको भनाई छ ।
प्रदेश कमिटीको असोज पहिलो साताको सर्कुलर अनुसार जिल्लास्तरमा कार्यदल निर्माण गरी स्थानीय तहस्तरमा पार्टी एकीकरणको गृहकार्य गरिएको थियो । असोज २८ गते एमाले र माओवादी केन्द्रका जिल्ला पदाधिकारी सम्मिलित ८ जनाको कार्यदल बनाएर नगरपालिका र गाँउपालिकामा पार्टी एकीकरणको गृहकार्य सम्पन्न भएको छ ।
कार्यदलले तीन चरणमा छलफल गरी कार्तिक २८ गते दार्चुलाका ९ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको चयन गरी सार्वजनिक गरिसकेको छ । व्यास, मालिकार्जुन, शैल्यशिखर, मार्मा र अपिहिमालमा एमालेबाट पार्टीको नेतृत्व हुने भएको छ भने दुहुँ, महाकाली, लेकम र नौगाडमा माओवादी केन्द्रबाट एकीकृत पार्टीको नेतृत्व हुने सहमति कार्यदलमा भइसकेको छ ।
नौवटै स्थानीय तहमा नेतृत्व छनौट गरी सार्वजनिक गर्दा मंसिर दोस्रो हप्ताभित्र नगर कमिटी र गाँउपालिका कमिटी निर्माण गरिसक्ने घोषणा गरिएको थियो । तर प्रदेश र जिल्लाको संरचना नबन्दा तल्लो तहको कमिटी निर्माणमा ढिलाइ भएको नेकपाका नेता ज्ञानेन्द्र घर्तिले बताउनुभयो ।
माथिल्लोस्तरबाट पार्टी एकीकरणको टुंगो लागेपछि तल्ला कमिटी निर्माणले गति पाउने नेता घर्तिको भनाई छ । एकीकृत पार्टीको जिल्ला नेतृत्व गर्ने निश्चित भएका नेता गणेशसिह खत्री पनि प्रदेश कमिटीको बैठकपछि जिल्ला र स्थानीय तह कमिटी गठनले पूर्णता पाउने बताउनुहुन्छ । प्रदेश कमिटीको बैठक केही दिनभित्र बस्ने उहाँको भनाई छ ।