प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँड

0
2404

दार्चुला, माघ १६ गते ।
प्रदेशसभा सदस्यहरु सम्मिलित समितिले प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँड गरेको छ । पुष ३० गते पूर्वाधार विकास छनौट तथा अनुगमन समितिले कार्यक्रमबाट चालु वर्षमा सञ्चालन गरिने योजनाहरुको टुंगो लगाएको हो ।
सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रममा २ करोड बजेट विनियोजन गरेको छ ।
दुइटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा पुष ३० गते योजना र बजेट विनियोजनको टुंगो लगाइएको जिल्ला समन्वय अधिकारी कमलवहादुर थापाले बताउनुभयो । प्रवेश पूर्वाधार विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ को व्यवस्थाअनुसार दुबै निर्वाचन क्षेत्रमा योजनाहरु छनौट सम्पन्न भएको उहाँले बताउनुभयो ।
नियमावलीको व्यवस्थाअनुसार प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा समानुपातिकतर्फका प्रदेशसभा सदस्य सम्मिलित पूर्वाधार विकास छनौट तथा अनुगमन समिति रहन्छ । समानुपातिकतर्फका प्रदेशसभा सदस्यले कुनै एक निर्वाचन क्षेत्रको समितिको बस्न पाउने व्यवस्था छ भने समितिको सदस्य सचिव जिल्ला समन्वय अधिकारी रहन्छन् ।
पूर्वाधार विकास छनौट तथा अनुगमन समितिको बैठक धनगढीमा बसेको हो । प्रदेशसभा सदस्यहरुको कार्यव्यस्तताका कारण प्रदेशको अस्थायी राजधानीमै बैठक बसी योजना छनौट गरिएको जिल्ला समन्वय अधिकारी थापाले बताउनुभयो ।
छनौट गरिएका योजना र बजेट बाँडफाँडको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाइसकेको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।
यसैगरी, योजना कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहहरुलाई योजना र बजेटको विवरण पठाइएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत वीरसिह धामीले बताउनुभयो ।