प्रदेश सदस्यबाटै कार्यविधिको व्यवस्था पालना भएन

2507

बैठक गर्नुपर्ने ३ पटक
प्रदेश क मा औपचारिकता देखाउने प्रयास, प्रदेश ख मा एउटा बैठक

दार्चुला, माघ १० गते ।
दार्चुलामा प्रदेशसभा सदस्यहरुले बजेट बाडफाँड गर्ने समितिको बैठक नै कार्यविधिअनुसार बस्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश पूर्वाधार विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावलीको व्यवस्थाअनुसार दुइवटै निर्वाचन क्षेत्रमा बैठक राखिएका छैनन् ।
गत कार्तिक ४ गते प्रदेश सरकारको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा बजेट बाडफाँड गर्नुअघि कम्तिमा ३ वटा बैठक गर्नुपर्ने व्यवस्था छ । तर दार्चुलाका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्व गर्ने समितिहरुले निर्धारित प्रक्रिया र संख्यामा बैठक गरेका छैनन् ।
कार्यविधिको नियम ५ को उपनियम (१) मा एउटा आर्थिक वर्षमा कम्तिमा ५ वटा बैठक बस्ने प्रावधान राखिएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा समानुपातिकतर्फका सदस्य र जिल्ला समन्वय अधिकारी सम्मिलित निर्देशक समिति रहन्छ । गत आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनको समीक्षा गर्न भदौ १५ गतेभित्र निर्देशक समितिको पहिलो बैठक बस्नुपर्ने हुन्छ । तर यो अभ्यास दार्चुलाको प्रदेशसभा क र ख दुबै क्षेत्रमा नभएको जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले बताउनुभयो ।
चालु आर्थिक वर्षको कार्यक्रम छनौट सम्बन्धि छलफल गर्न असोज १५ गतेभित्र र कार्यक्रमको छनौट गर्न कार्तिक १५ गतेभित्र निर्देशक समितिको बैठक राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । चालु वर्षका लागि भने तिनवटै बैठक कार्तिक मसान्तभित्र गर्नसकिने विकल्प पनि कार्यविधिले दिएको छ ।
प्रदेशसभाको क निर्वाचन क्षेत्रमा कार्तिक २३ गते पहिलो बैठकको माइन्युट उठाइएको छ । निर्देशक समितिका संयोजक गेल्बुसिह बोहराको अध्यक्षतामा गरिएको बैठकमा प्रदेशसभा उपसभामुख समेत रहनुभएका समानुपातिक सदस्य निर्मला बडाल जोशी र जिल्ला समन्वय अधिकारी मोहनसिह धामीको हस्ताक्षर छ ।
बैठकले ‘नियमावली बमोजिम दार्चुला जिल्ला निर्वाचन क्षेत्र क अन्तर्गत छनौट गर्नुपर्ने आयोजनाहरुको सम्बन्धमा प्रारम्भिक छलफल गरिएको’ एउटा मात्रै निर्णय गरेको छ । माइन्युट पुस्तिकामा नेपाली काग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य रहनुभएका नन्दा बमको नाम लेखिए पनि हस्ताक्षर भने छैन ।
प्रदेशसभा क निर्वाचन क्षेत्रको निर्देशक समितिको दोस्रो बैठक मंसिर १७ गते राखिएको थियो । बैठकमा समानुपातिकतर्फका प्रदेशसभा सदस्य निर्मला बडाल र नन्दा बमको उपस्थिति देखिदैन । समितिका संयोजक गेल्बुसिह बोहरा र सदस्य सचिव जिल्ला समन्वय अधिकारी मोहनसिह धामीको मात्रै यो बैठकको माइन्युटमा हस्ताक्षर छ ।
दोस्रो बैठकमा ‘आयोजना छनौट तथा निर्देशक समितिको काम, कर्तव्य र अधिकार तथा नियमावलीको सैद्धान्तिक पक्षहरुमाथि छलफल गरिएको’ एउटै निर्णय छ । प्रदेशसभा सदस्य बोहरा नेतृत्वको निर्देशक समितिले मंसिर २९ गते ३ करोड बजेट बाडफाँडको निर्णय गरेको छ । मंसिर २९ गतेको बैठकमा उपसभामुख निर्मला बडाल जोशी पनि सहभागी देखिन्छन् ।
प्रदेशसभाको ख निर्वाचन क्षेत्रमा भने कार्तिक २४ गते बैठक राखेर बजेट विनियोजन गरिएको छ । कार्तिक २४ गतेको बैठकबाहेक ख निर्वाचन क्षेत्रमा अरु बैठक आयोजना गरिएका छैनन् । ख निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मानवहादुर धामी मात्रै निर्देशक समितिमा छन् । प्रदेशसभा सदस्य धामी नेतृत्वको निर्देशक समितिमा जिल्ला समन्वय अधिकारी भने सदस्य सचिव रहने व्यवस्था छ ।
प्रदेशसभा क क्षेत्रको निर्देशक समितिले औपचारिकता देखाउन मात्रै ३ वटा बैठकको माइन्युट उठाएको जिल्ला समन्वय समिति स्रोतले बतायो । निर्वाचन क्षेत्र ख मा भने एउटा मात्रै बैठक राखेर एउटै बैठकको एउटै निर्णंयले ३ करोड बजेट बाडफाँड टुंग्याएको छ ।
प्रदेशसभा क निर्वाचन क्षेत्रमा २८ र ख निर्वाचन क्षेत्रमा २९ वटा योजना तथा कार्यक्रम छनौट गरिएका छन् । प्रदेशसभा ‘ख’बाट निर्वाचित सदस्य मानवहादुर धामीले ‘कार्यव्यस्तताले कार्यविधिअनुसारका बैठक राख्न नसकिएको’ बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !