प्रदेश सरकारको विकास खर्च एक प्रतिशत

2157

दार्चुला, पुष ५ गते ।
दार्चुलामा सुदूरपश्चिम प्रदेश सरकारको विकास खर्च एक प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा विनियोजित पूजीगत बजेटको एक प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
आधा दर्जन सरकारी निकायमार्फत प्रदेश सरकारले यो वर्ष दार्चुलामा २४ करोड १६ लाख ७२ हजार पूजीगत बजेट छुट्याएको छ । साउनदेखि कार्तिक महिनासम्मको खर्च भने २६ लाख १९ हजार ६ सय १९ रुपैयाँ मात्र रहेको छ । विनियोजित पूजीगत बजेटको १ दशमलव ०८ प्रतिशत मात्रै प्रथम चौमासिकसम्म खर्च भएको छ ।
डिभिजन वन कार्यालयले ५ लाख ९७ हजार ३ सय ९९ रुपैयाँ, घरेलु तथा साना उद्योग विकास समितिले ६ लाख ६७ हजार, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले ११ लाख ३५ हजार २ सय २१ र स्वास्थ्य कार्यालयले २ लाख १९ हजार ९ सय ९९ रुपैयाँ पूजीगत बजेट खर्च भएको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो ।
यो वर्ष डिभिजन वन कार्यालयमा १ करोड १८ लाख ६५ हजार पूजीगत बजेट छ । डिभिजन वनले वार्षिक बजेटको ५ प्रतिशत मात्रै प्रथम चौमासिकमा खर्च गरेका छ । घरेलुमा १६ लाख ६७ हजार पूजीगत बजेट छ भने सबैभन्दा बढी पूजीगत बजेट जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा २२ करोड ३४ लाख ६७ हजार रुपैयाँ रहेको छ । सिँचाईले प्रथम चौमासिक अवधिमा शुन्य दशमलव ५ प्रतिशत बजेट मात्रै खर्च गरेको तथ्यांक छ । स्वास्थ्य कार्यालयमा ११ लाख ४३ हजार पूजीगत बजेट रहेकोमा कार्तिकसम्म १९ प्रतिशत बजेट खर्च गरेको छ ।
जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले भने प्रथम चौमासिक अवधिमा पूजीगत बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका सुचना अधिकारी इन्द्रसिह धामीले बताउनभयो । जिल्ला अस्पतालमा २५ लाख ३० हजार र आयुर्वेद स्वास्थ्य केन्द्रमा १० लाख रुपैयाँ पूजीगत बजेट रहेको छ ।
प्रदेश सरकारले जिल्लास्थित आफु मातहतका कार्यालयमा चालु र पूजीगत गरी यो वर्ष जम्मा ४७ करोड ५३ लाख ३ हजार बजेट विनियोजन गरेको छ ।
प्रदेशको चालु खर्च साढे १० प्रतिशत
दार्चुला जिल्लामा प्रदेश सरकारको चालु खर्च १० दशमलव ६५ प्रतिशत रहेको छ । प्रथम चौमासिक अवधिमा चालुतर्फ २ करोड ४८ लाख ८१ हजार १७ रुपैयाँ ८० पैसा खर्च भएको कालेनिका दार्चुलाको विवरण छ ।
कार्तिक महिनामा मात्रै चालुतर्फ १ करोड ४ लाख ८१ हजार ४ सय १६ रुपैयाँ २० पैसा खर्च भएको छ । यो चालुतर्फ विनियोजित रकमको ४ दशमलव ४८ प्रतिशत बजेट हो । चालु तर्फको कुल बजेट २३ करोड ३६ लाख ३१ हजार रहेको छ ।
चालु र पूजीगत दुबैतर्फ कार्तिकसम्मको खर्च २ करोड ७५ लाख ६ सय ३६ रुपैयाँ ८० पैसा रहेको छ । यो खर्च कुल बजेटको ५ दशमलव ७८ प्रतिशत हुन आउछ । प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई ४ लाख चालु बजेट दिएको छ भने प्रदेश लेखा इकाई कार्यालयमा ५ करोड ४६ लाख २९ हजार चालु बजेट रहेको छ । नेपाल सरकारअन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालयमै प्रदेश लेखा इकाई कार्यालय सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !