प्रसुति केन्द्र भवन निर्माणको बजेटमा वृद्धि

0
2046

दार्चुला, पुष १७ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा निर्माण गरिने प्रसुति केन्द्र भवनमा बजेट वृद्धि गरेको छ । गतवर्ष निर्माण गरिएका प्रसुति केन्द्रको भवनका लागि २० लाख बजेट दिइएकोमा चालु वर्षमा २५ प्रतिशत बजेट वृद्धि गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले चालु वर्षमा प्रदेशभर ३२ स्वास्थ्य संस्थामा प्रसुति केन्द्र भवन बनाउने लक्ष्य राखेको छ । कुन कुन स्वास्थ्य संस्थामा प्रसुति केन्द्र भवन बनाउने भन्ने विवरण पुष ९ गते मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।
यो वर्ष निर्माण गरिने प्रसुति केन्द्र भवनका लागि २५ लाखका दरले बजेट विनियोजन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । दार्चुलामा यो वर्ष लेकम गाउँपालिकाको खरकडा स्वास्थ्य चौकी र अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकीमा प्रसुति केन्द्र निर्माण गरिने भएको छ ।
प्रसुति केन्द्रमा कुरुवालाई समेत वास बस्न मिल्ने गरी भवन निर्माण गरिने छ । गतवर्ष दार्चुलाका नौवटा स्वास्थ्य संस्थामा प्रसुति केन्द्र भवन निर्माण गरिएका थिए । अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ सितीमा भने जमिन व्यवस्थापन गर्न नसकिदा गतवर्ष प्रसुति केन्द्र भवन निर्माण गर्न नसकिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
चालु वर्षको भवन निर्माणको बजेट र अख्तियारी प्राप्त भइनसकेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । ‘औपचारिक जानकारी आएको छैन तर सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्दा एउटा प्रसुति केन्द्र भवनको बजेट २५ लाख रहेको जानकारी पाइएको छ’ उहाँले भन्नुभयो ।
सामुदायिक स्वास्थ्य इकाइमा २ लाख बढ्यो
चालु वर्ष निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाइको भवनमा २ लाख बजेट बढेको छ । गतवर्ष स्वास्थ्य इकाइ भवन निर्माणका लागि १० लाख बजेट राखिएकोमा यो वर्ष एउटा सामुदायिक स्वास्थ्य इकाइ भवनको लागत १२ लाख राखिएको छ ।
चालु वर्ष शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ तौकी र व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेराको डोकटमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गर्ने कार्यक्रम छ । सुदूरपश्चिम प्रदेशभर १६ वटा स्वास्थ्य इकाइ केन्द्र भवन निर्माणको लक्ष्य राखिएको छ ।
शहरी स्वास्थ्य केन्द्र भवन निर्माणमा भने बजेट यथावत राखिएको छ । शहरी स्वास्थ्य केन्द्र भवन निर्माणका लागि १५ लाखका दरले बजेट विनियोजन गरिएको छ । चालु वर्ष सुदूरपश्चिमभर १६ वटा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिने लक्ष्य राखिएकोमा दार्चुलामा एउटा मात्रै भवन निर्माण गरिनेछ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ भण्डारीगाउँमा शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको कार्यक्रम छ ।