भदौ अन्तिम साता तीन दिवस मनाउन पत्राचार

0
2518

दार्चुला, भदौ १५ गते ।
भदौ अन्तिम साता तीनवटा फरक फरक दिवस मनाउन दार्चुलाका स्थानीय तहहरुलाई पत्राचार गरिएको छ । भदौ २३ गते राष्ट्रिय शिक्षा दिवस, भदौ २९ गते राष्ट्रिय वाल दिवस र भदौ ३० गते विश्व सरसफाई दिवस मनाउन शिक्षा विकास तथा समन्वय इकाईले मंगलवार दार्चुलाका नौवटै स्थानीय तहमा पत्राचार गरेको हो ।
सेप्टेम्बर ८ का दिन ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ औं राष्ट्रिय शिक्षा दिवस रहेको छ । ‘समाजवादउन्मुख सम्वृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दीगो शैक्षिक पूर्वाधार’ नाराका साथ यस वर्षको शिक्षा दिवस मनाइनेछ । स्थानीय तहको क्षेत्रअन्तर्गत रहेका विद्यालय र सामुदायिक सिकाई केन्द्रहरुमा विविध कार्यक्रम साथ शिक्षा दिवस मनाउन पत्रमा भनिएको छ । स्थानीय तहअन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखालाई दिवस सम्पन्न भएपछि यसबारे समन्वय इकाईलाई जानकारी गराउन पनि भनिएको छ ।
भदौ २९ गते स्थानीय तहअन्तर्गत रहेका विद्यालय र शिक्षण संस्थाहरुमा अध्ययनरत वालवालिका सम्मिलित गराई वाल दिवसको आयोजना गर्न छुट्टै सर्कुलर गरिएको छ । ‘सुखी नेपाली, सम्वृद्ध नेपाल ः वालअधिकार सबैको सरोकार’ नाराका साथ वक्तृत्वकला, निबन्ध प्रतियोगिता, हाजिरीजवाफ, विभिन्न नारा तथा प्लेकार्ड प्रदर्शनी जस्ता क्रियाकलाप गर्न भनिएको छ । वालदिवस कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सरोकारवालाहरुको सहभागिता बढाउन पनि आग्रह गरिएको छ ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले भदौ ३० गते विश्व सरसफाई दिवस मनाउन पनि छुट्टै पत्र लेखेको छ । स्थानीय तहअन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखालाई लेखिएको पत्रमा भदौ २४ देखि ३० गतेसम्म सप्ताहव्यापी क्रियाकलापसहित दिवस मनाउन भनिएको छ ।
नेपाल स्वच्छ वातावरण महाअभियानअन्तर्गत यस वर्षको विश्व सरसफाई दिवस विशेष महत्वका साथ मनाउन गृह मन्त्रालयबाट पत्राचार गरिएको छ । मन्त्रालयको पत्र आएपछि जिल्लास्थित सबै स्थानीय तहलाई यसबारे पत्राचार गरिएको समन्वय इकाई प्रमुख जयदेव महराले बताउनुभयो ।
विश्व सरसफाई दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रममा भदौ २४ गते घर सफाई गर्ने, भदौ २५ गते शैक्षिक संस्था सफाई गर्ने र भदौ २६ गते सार्वजनिक संस्थामा सरसफाई गर्ने कार्यतालिका छ । यसैगरी भदौ २७ गते धार्मिकस्थलको सरसफाई गर्ने, भदौ २८ गते नदीनाला सरसफाई गर्ने, भदौ २९ गते सडक सरसफाई गर्ने कार्यक्रम छ । भदौ ३० गते सरोकारवालाहरुको सहभागितामा वृहद सरसफाई दिवसको आयोजना गर्न भनिएको छ ।