भारतमा गाडी दुर्घटना, दुई नेपाली घाइते

2095

वीरादत्त भट्ट,
दार्चुला, पुष १५ गते ।
नेपाली नागरिक सवार भारतीय गाडी भारतको तावाघाँट नजिकै दुर्घटना हुँदा दुई नेपाली घाइते भएका छन् । पिथौरागढ जिल्लाको धारचुलाबाट गस्कुका लागि छुटेको भारतीय जीप तावाघाँट नजिकै दुर्घटनामा परेको होे ।
नेपाली नागरिक सवार उक्त जीप तावाघाँटभन्दा केही अगाडिको क्षेत्रमा माथिबाट ठूलो ढुंगा खस्दा दुर्घटना भएको हो । घाइते हुनेमा व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला मालका आसना धामी र तुली धामी रहेका छन् । उक्त गाडीमा १० जना यात्रु सवार रहेपनि दुई जना मात्रै सामान्य घाइते भएको प्रत्यक्षदर्शी राप्लाका शिक्षक हरकसिँह कार्कीले बताउनुभयो ।
माथिबाट खसेको ढुंगा जीपको अगाडीको भागमा परेको थियो । ढुंगा गाडीको अग्रभागमा परेकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शी शिक्षक कार्कीले बताउनुभयो ।
अध्ययनको शिलशिलामा जिल्ला सदरमुकाम खलंगामा बस्दै आएका ती किशोरीसहित सबै नेपाली नागरिक घरका लागि जाने बेला दुर्घटना भएको हो । दुबै जनाको मंगलवार साँझ धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको आफन्तहरुले बताएका छन् ।
भारतीय सरकारले महाकाली नदी किनारै किनार लिपुलेकसम्मको सडक चौडा बनाउने कार्य तथा नयाँ ट्«याक खोल्ने कार्य गरिरहेको छ । निर्माणधीन सडक खण्डमा जीपहरु सञ्चालन भइरहेका बेला माथिबाट ठूलो ढुंगा खस्दा गाडीमा सवार दुई जना किशोरी सामान्य घाइते भएका हुन् ।
नेपाली भूमि भएर गाउँघर जान सकिने अवस्था नहुदाँ व्याँस क्षेत्रका स्थानीयहरुले भारतको बाटो प्रयोग गर्दै आएका छन् । युगौँदेखि व्याँस क्षेत्रका स्थानीयहरुले नेपालको बाटो भएर व्याँससम्म जान सकिने बाटो नहुदाँ भारतीय बाटो प्रयोग गर्नु परेको स्थानीय शिक्षक हरकसिँह कार्कीले बताउनुभयो । ‘नेपालकै बाटो भएर व्याँससम्म जान सकिने अवस्था नहुदाँ भारतीय बाटो प्रयोग गर्न बाध्य छौँ’ शिक्षक कार्कीले भन्नुभयो ।
झण्डै ९÷१० वर्षदेखि दार्चुलाको तिंकर जोड्ने दार्चुला–तिंकर सडक निर्माण कार्य थालिए पनि हालसम्म करिब ४० किलोमिटर मात्रै सडक निर्माण भएको छ । जिल्ला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म करिब ४० किलोमिटर मात्रै ट्«याक खोलिएको दार्चुला तिंकर सडक योजनाले जनाएको छ ।
त्रिदेशीय सीमा क्षेत्र जोड्ने सडक निर्माण कार्य कछुवा गतिमा हुदाँ व्याँस क्षेत्रका स्थानीयहरुले भारतको बाटो प्रयोग गर्न बाध्यछन् । त्यतिमात्र नभई सामरिक महत्वको त्रिदेशीय सीमा क्षेत्र सम्पर्कविहिन बनेको छ । सदरमुकामदेखि व्याँससम्मको कनेक्टिभिटी हुन सकेको छैन । भारततिर अतिक्रमित भूमि लिपुलेकसम्मको सडकलाई तीब्र गतिमा निर्माण गरिरहेका बेला नेपालतर्फ वर्षाैदेखि सुरु गरिएको सडक निर्माणले गति दिन सकेको छैन । कहिले ठेकेदारहरुको लापरबाही त कहिले निर्माण सामग्री अभावमा दार्चुला–तिंकर सडकको निर्माण कार्य सन्तोषजनक हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !