भारतीय दृष्टिकोण कहिले सुध्रिने ?

0
3142

नेपाललाई हेर्ने भारतीय दृष्टिकोणमा कुनै परिवर्तन नभएको आम आदमी पार्टीका बिधायकले गरेको टुइट र भारतीय जनता पार्टीले प्रतिक्रिया नै नजनाएको घटनाले पुष्टि हुन्छ । भारतीय प्रधानमन्त्री मोदीको भाषणको जवाफ दिदैं आम आदमी पार्टीकि बिधायक अलका लांबाले गरेको टुइटले यतिबेला भारतीय राजनीति, सञ्चार, बुद्धिजीवी क्षेत्रमा मात्रै नभएर नेपालमा पनि भारतीयहरुको नेपाल हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन नभएको र हुनु पर्ने कुराका विषयमा वहष छेडेको छ । भारतीय प्रधानमन्त्री मोदीलाई चुनौति दिन लांबाले गरेको टिप्पणीले नेपालीहरुलाई हीन काम गर्ने, मजदुर मात्रै देख्ने, जुनसुकै बेला प्रयोग गर्न सक्ने, आफ्नो अस्तित्व नै नभएको जसरी देखाएको छ । यद्यपि यो टिप्पणीप्रति उनले माफी समेत मागेको सार्वजनिक भएको छ तर उनले जे भनिन् त्यसले नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुक हो भन्ने कुरा भारतीय नेताहरु स्वीकार गर्दैनन् भन्ने देखाउँछ । उनी दिल्ली विश्वविद्यालयकि छात्र संघ अध्यक्ष समेत रही सकेकि छन्, यसरी उच्च शिक्षित र राजनीतिमा बलियो उपस्थिति जनाउने व्यक्तिले नेपाल र नेपालीप्रति देखाएको अपहेलित भावको नेपालभित्र मात्रै नभएर भारतमा समेत बिरोध भएको छ । सम्भवतः यही बिरोधका कारण उनले माफि पनि मागेको हुनु पर्दछ ।
नेपाललाई स्वतन्त्र र सार्वभौम देशको मान्यता दिने मनोविज्ञान भारतीयहरुमा कहिले बिकसित हुन्छ ? के उनीहरुले नेपाललाई गरिब र कमजोर मात्रै देख्छन् ? के भारतीयहरुका लागि नेपाल भारतको कुनै एक प्रान्त जस्तै हो र नेपालीहरु उनीहरुका रैति जस्तै हुन् ? उनीहरुको परिवर्तन हुन नसकेको मनोविज्ञानले यही कुरालाई देखाउँछ तर थोरै भएपनि यस्ता कुराको चरम बिरोध उनीहरुले भारतभित्रै खेप्नु पर्दछ । नेपालीहरुको गर्ने बिरोध उनीहरुसम्म नपुग्ने भएपनि भारतीयहरुले गर्ने बिरोधले पक्कै पनि उनीहरुलाई गम्भीर तुल्याएको हुनु पर्दछ ।
एक स्वतन्त्र र सार्वभौम मुलुकले अर्को सार्वभौम र स्वतन्त्र मुलुलकलाई गर्ने व्यवहार यस्तो हुन सक्दैन । भारतमा रहेका प्रगतिशील विचार राख्ने बुद्धिजीवी, समाजशास्त्री र राजनीतिज्ञहरुले मात्रै यो कुराको ख्याल गरेर बोल्छन् बाँकी रहेका सबै भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमा अहिलेसम्म कुनै किसिमको परिवर्तन आउन सकेको छैन । अन्य राजनीतिक विचार राख्नेहरु यस्तो कुरामा किन चुक्छन् ? हिन्दु धर्मको राजनीति गर्ने भारतीय जनता पार्टी जसले नेपालमा समेत हिन्दु धर्म स्थापनाको क्षेत्रमा सहयोग गर्दै छ राजालाई विष्णुको अवतार मान्छ, उसले राजा र हिन्दुका लागि नेपाल मान्ने तर नेपालीहरुलाई रैति मान्ने प्रवृत्ति कहिले छोड्छ ? आम जनता पार्टीका बिधायकले नेपालीलाई हेप्ने गरी टुइट गरिरहँदा आफ्नै नेतालाई बचाउन पनि भारतीय जनता पार्टीका नेताहरुले नेपालको स्वाभिमानलाई स्वीकार गर्ने गरी प्रतिक्रिया दिनु पर्दथ्यो त्यो देखिएन । बरु यो काम बिबिसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीले गरेका छन् ।